
पोखरा,
कृषि विज्ञहरुले जैविक विषादी प्रयोग गर्दा किरा कम लाग्ने र उत्पादन बृद्धि हुने बताएका छन् । पोखराको वाटरफन्ट रिसोर्टमा विहिबार देखि सुरु भएको ‘प्राकृतिक समाधानहरुमा केन्द्रित जलवायु स्मार्ट बाली संरक्षण’ सम्बन्धी क्षेत्रीय प्रशिक्षण तथा कार्यशाला गोष्ठीमा सहभागि कृषि विज्ञहरुले रसायनिक बिषदी भन्दा जैविक बिषादी प्रयोग गर्न सुझाव दिदै त्यसले किरा कम लाग्नुका साथै उतपादन बृद्धि हुने दाबी गरेका हुन् ।
शुक्रबारसम्म पोखरामा संचालन हुने उक्त कार्यक्रममा नेपाल सहित ४ देशका प्रतिनिधि जलवायु स्मार्ट बाली संरक्षणमा केन्द्रित हुने गरी छलफलमा जुटेका छन् । गण्डकी प्रदशकी भूमि, व्यवस्था, कृषि तथा सहकारी मन्त्री पद्मा जिसीले बिहीबार कार्यक्रमको उद्घाटन गर्दै दीगो र आत्मनिर्भर कृषि प्रणालीका लागि जैविक विषादी प्रयोग अनिवार्य सर्त बताउदै यसलाई सरकारले प्रोत्साहन गर्ने जनाइन् । रासायनिक विषादी प्रयोग घटाएर जैविक विषादी प्रयोग नगर्ने हो भने थप संकट निम्तिने तर्क गर्दै उनले जैविक विविधतापूर्ण गण्डकी प्रदेशमा रासायनिक विषादीको प्रयोगले उत्पादनमा ह्रास आउने दाबी गरिन् । जलवायु परिवर्तन, विषादीयुक्त खाद्य पदार्थ सेवनका कारण स्वास्थ्यमा नकारात्मक असर देखा परेको मन्त्री जिसीले जनाइन् ।

तष्विर दीननाथ बराल
प्राकृतिक श्रोत व्यवस्थापन क्याम्पस पुरुञ्चौर कास्कीकी क्याम्पस प्रमुख प्रा.डा. दुर्गा देवकोटाले रसायनिक बिषादीको अत्याधिक प्रयोगले पर्यावरणसँगै मानव स्वास्थ्यमा असर परिरहेको बताइन् । किसानले जानेर होस् वा नजानेर रासायनिक विषादीको प्रयोग बढाउँदै लगेको उनको जनाइन् । वनस्पती क्वारेन्टाईन तथा कीटनाशक व्यवस्थापन केन्द्रका प्रमुख भोजराज सापकोटाले नेचर बेस सोलुसन अहिलेको आवश्यक्ता भएको बताउदै जलवायु संकट मात्र होईन, वातावरण प्रदुर्षण, मानव स्वास्थ्यमा नकारात्म्क असरसँगै खाद्य संकटपनि निम्तिन सक्ने दाबी गरे ।
कार्यशालामा नेपाल सहित ४ देशका जैविक विषादीको क्षेत्रमा काम गरिरहेका विज्ञहरुको सहभागिता रहेको गण्डकी प्रदेश भूमि, व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयका सचिव वासुदेव रेग्मीले बताए । कार्यक्रममा नेपाल सहित, बंगलादेश, भियतनाम र भुटानका प्रतिनिधिहरु सहभागी छन् । सचिव वासुदेव रेग्मीले जैविक विषादीको नमूना फार्मका रुपमा पोखरा–१३ दुईकुलाको मुहानमा टमाटर तथा पोखरा–२१ निर्मलपोखरीमा सुन्तला फार्मलाई अगाडि बढाइएको बताए । सो फार्महरुले जैविक विषादीबाटै उत्पादन बढाउन सफल भएको बताउँदै यसलाई अन्य ठाउँमापनि बिस्तार गर्नका लागि कार्यशाला उपयोगी हुने विश्वास व्यक्त गरे ।
कार्यक्रममा पोखरा–१३ दुईकुलाको मुहानमा चौधरी कृषि फार्म सञ्चालन गर्दै आएकी सकुन्तला चौधरीले आफूहरुले जैविक विषादी प्रयोग गरेर राम्रो उत्पादन गरिरहेको बताईन् । राज्यले सहयोग गर्ने भनेको त यस्तै त होनि भने पछि कार्यक्रममा सहभागिहरुबाट हाँसेका थिए । जैविक विषादी प्रयोग गरिएका नमूना फार्महरुको पनि स्थलगत अवलोकन गरिने केन्द्रीय कृषि प्रयोगशाला ललितपुरकी प्रमुख डा.शान्ता कार्कीले बताइन् । विभिन्न देशका प्रतिनिधि जलवायु स्मार्ट बाली संरक्षणमा केन्द्रित छलफल सहित आ आफ्नो देशको अभ्यास समेत जानकारी गराउदैछन्।




