
पोखरा,
१५ औं केन्द्रिय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा कीर्तिमान सहित उत्कृष्ट प्रदर्शन गरेकी एथलेटिक्स खेलाडी नारायणी भण्डारीलाई प्रदेश खेलकुद परिषद् गण्डकीले वर्षको सर्वोत्कृष्ट खेलाडीको रुपमा सम्मान गरेको छ । आज (बुधबार) आयोजित एक विशेष समारोहमा भण्डारी सहित राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा पदक जितेका ९३ जना खेलाडी र दुई खेल संघलाई नगदसहित सम्मान प्रदान गरेको प्रदेश खेलकुद परिषद गण्डकीका सदस्य सचिव श्रीधर शर्माले बताए ।
नारायणीले २०८२ सालको जेठ २९ गते काठमाडौंमा सम्पन्न राष्ट्रपति रनिङ शिल्ड अन्तर्गत छात्रा ८ सय मिटर दौड २ मिनेट १७.९ सेकेन्डमा पुरा गर्दै २५ वर्ष अघिको टिका चौधरीको कीर्तिमान भंग गरेकी थिइन्। उनले सो प्रतियोगितामा १५ सय मिटर दौडमा स्वर्ण तथा रिले दौडमा रजत पदक समेत जितेकी थिइन । उत्कृष्ट खेलाडीको रुपमा उनले नगद ४३ हजार रुपैयाँ पुरस्कार स्वरूप प्राप्त गरिन् । समारोहमा वर्षको उत्कृष्ट खेल संघको रुपमा प्रादेशिक क्रिकेट संघलाई नगद एक लाख रुपैयाँसहित सम्मान गरिएको छ भने उत्कृष्ट खेल संघकै अर्को विधामा प्रदेश हक्की संघलाई ५० हजार रुपैयाँ नगद सहित सम्मान पत्र प्रदान गरिएको परिषदले जनाएको छ ।
प्रदेश खेलकुद परिषदले आर्थिक वर्ष २०८१र०८२ मा राष्ट्रिय, अन्तर्राष्ट्रिय, जुनियर यू—१४ तथा राष्ट्रपति रनिङ शिल्ड खेलमा पदक जितेका खेलाडीहरूलाई नगदसहित सम्मान प्रदान गरेको हो। यस्तै, प्रदर्शनको आधारमा खेलाडीहरूलाई छात्रवृत्ति समेत दिइएको परिषदका सदस्य शर्माले उल्लेख गरे । उनका अनुसार अन्तर्राष्ट्रिय स्तरमा पदक जितेका १६ खेलाडीले जनही १७ हजार रुपैयाँ र सहभागिता जनाउने खेलाडीहरूले १० हजार रुपैयाँ पाएका छन्।
स्नातक तहमा अध्ययनरत पदक विजेता ४ जनाले जनही २७ हजार, कक्षा ११र१२ मा अध्ययनरतले २२ हजार र कक्षा १० सम्मका २१ जना जुनियर खेलाडीले १७ हजार रुपैयाँका दरले छात्रवृत्ति प्राप्त गरेका छन्। राष्ट्रिय प्रतियोगितामा स्वर्ण पदक विजेताले १७ हजार, रजत जित्नेले १५ हजार र कास्य पदक प्राप्त गर्नेले १३ हजार रुपैयाँ नगद प्राप्त गरेका छन्।
कार्यक्रममा परिषदका उपाध्यक्ष धोज कुमार गुरुङ, सदस्य सचिव श्रीधर शर्मा र सदस्य विनय थापाले खेलाडी तथा संघहरूलाई सम्मान गरेका थिए। उपाध्यक्ष गुरुङले गण्डकी प्रदेशको खेलकुद इतिहासमा यो कार्यक्रम एक महत्वपूर्ण फड्को भएको भन्दै यसको प्रभाव आगामी पुस्तामा सकारात्मक रुपमा पर्ने विश्वास व्यक्त गरे। सदस्य सचिव शर्माले भने सीमित बजेटका कारण सोचेजस्तो गति नपाएको खेलकुद विकास आगामी वर्षमा तीव्र पारिने बताए।
यो सम्मान समारोहमा परिषदले जम्मा १८ लाख ५० हजार रुपैयाँ खर्च गरेको जनाएको छ। सम्मानित हुने खेलाडीहरूमा विश्वास अधिकारी (भलिबल, रजत, माल्दिभ्स), विजय महत्तो (सेपाक्ताक्रो, रजत, साउथ एसियन) बादल कार्की (एथलेटिक्स, काँस्य, पाकिस्तान), कुसुम गोदार, ज्योत्स्निका मरासिनी, सिमाना के.सी. रचना चौधरी (क्रिकेट, यू—१९, स्वर्ण) , सुबास भण्डारी, दिपक डुम्रे, अर्जुन कुमाल (क्रिकेट, यू—१९ पुरुष, स्वर्ण) , सोयल कुँवर, सिब्रिन श्रेष्ठ, अपरिचित पौडेल, विशाल थापा मगर (कबड्डी, रजत), सुस्मिता थापा (तेक्वान्दो, बाग्लुङ), स्मृति गुरुङ (कराते, रजत, कोलम्बिया) लगायतका खेलाडीहरु नगद सहित सम्मानित भएका हुन् । प्रदेश खेृलकुद परिषदका उपाध्यक्ष धोजकुमार गुरुङ, सदस्य सचिव शर्मा लगायतले खेलाडीहरुलाई सम्मान गरेका हुन् ।





