करिब ३३ महिनापछि पोखरामा सोलो प्याराग्लाइडिङ उडान पुनः सुरु हुने

-


     पोखरा क्लिक     
     असार २४ गते २०८२ मा प्रकाशित


पोखरा,

करिब ३३ महिनापछि पोखरामा सोलो प्याराग्लाइडिङ उडान पुनः सुरु हुने भएको छ। नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) ले सुरक्षालाई विशेष ध्यान दिँदै सोलो उडानलाई पुनः अनुमति दिएको हो।

विश्वकै उत्कृष्ट पाँच प्याराग्लाइडिङ गन्तव्यमध्ये एक मानिने पोखरामा सोलो उडान बन्द हुँदा हरेक वर्ष करोडौंको राजस्व गुम्दै आएको थियो। साथै, खुला नेपाल प्याराग्लाइडिङ प्रतियोगिता र नवौं राष्ट्रिय खेलकुद देखि उक्त उडान बन्द भएको थियो ।

नेपाल हवाई खेलकुद संस्था (ना) लाई सोलो उडानको व्यवसायिक जिम्मेवारी दिइएको छ। क्यानले सोलो उडान पुनः सुरु गर्न अनुमति दिन पत्राचार गरिसकेको नाका अध्यक्ष अनिल केसीले पोखराक्लिकलाई जानकारी दिनुभयो।

ूकरिब ३३ महिनादेखि सोलो प्याराग्लाइडिङ ठप्प थियो। त्यस अवधिमा नयाँ खेलाडी उत्पादन हुन सकेन। १९औं एसियाली खेलकुदमा रजत पदक विजेता नेपाली खेलाडीहरू समेत विदेशमा गएर खेल्न बाध्य भए,ू अध्यक्ष केसीले पोखराक्लिकसँग भन्नुभयो, ूअब पुनः उडान सुरु हुने भएपछि हामी उत्साहित छौं।ू

नाका अनुसार, साउनको पहिलो साताबाट सोलो उडान पुनः सञ्चालनमा ल्याउने तयारी भइरहेको छ। हालसम्म करिब ४ सय पाइलटले लाइसेन्स प्राप्त गरेका छन् भने २४० जना प्रत्यक्ष रूपमा यो पेसामा आबद्ध छन्।

अध्यक्ष केसीका अनुसार, सोलो उडान पुनः सुरु भएपछि नेपाली पाइलटहरूको क्षमता अभिवृद्धिका साथै अन्तर्राष्ट्रिय स्तरका प्रतियोगिताहरूको आयोजनाको ढोका पनि खुल्नेछ। ूविदेशी सोलो पाइलटहरूलाई समेत आकर्षण गर्नेछ, तर उडान सुरक्षा सुनिश्चित गर्न निगरानी आवश्यक हुनेछ,ू उहाँले भन्नुभयो।

सोलो उडान बन्द हुनुको प्रमुख कारण दशौं राष्ट्रिय खेलकुदमा सहभागी नेपाली सेनाका खेलाडी निसिम थापा मगरको दुर्घटनामा निधन हुनु थियो। उहाँ सारङकोटबाट उडे लगत्तै करिब १०० मिटरमाथिबाट खस्नुभएको थियो। गम्भीर घाइते अवस्थामा अस्पताल पुर्‍याइएका थापालाई चिकित्सकहरूले मृत घोषणा गरेका थिए।

उक्त घटनापछि क्यानले अनिश्चितकालका लागि सोलो उडान बन्द गरेको थियो। अब भने प्राविधिक तयारी सहित पुनः सुरुआत गर्न लागिएको हो। आफुहरुले आन्तरिक व्यबस्थापन गरेर केही दिनमा उक्त सेवा संचालन गर्ने केसीले जनाउनु भयो ।