
रसुवा, असार २४,
चीनतर्फबाट आएको भीषण बाढीले रसुवामा ठूलो जनधनको क्षति पुर्याएको छ। बाढीमा परेर कम्तीमा १८ जना बेपत्ता भएका छन्। बेपत्ता हुनेमध्ये ९ जना नेपाली, ६ जना चिनियाँ नागरिक र ३ जना नेपाली प्रहरी रहेको जिल्ला प्रहरी कार्यालय रसुवाले जनाएको छ।
एक जना प्रहरी भने नदीको बीच भागमा सुरक्षित रहेका छन् र उनीसँग सम्पर्क भएको बताइएको छ। त्यसैगरी नदीको बीचमा फसेका ९ जनाको नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीको टोलीले सकुशल उद्धार गरेको सहायक प्रमुख जिल्ला अधिकारी ध्रुवप्रसाद अधिकारीले जानकारी दिनुभयो। बाँकी बेपत्ताको खोजी कार्य जारी छ।
सोमबार राति आएको बाढीले रसुवागढी जलविद्युत् आयोजना, भन्सार कार्यालय, र अन्य संरचनामा ठूलो क्षति पुर्याएको छ। बाढीका कारण नेपाल विद्युत् प्राधिकरणको २ सय मेगावाट क्षमताको उत्पादन रोकिएको छ।
नेपाल विद्युत् प्राधिकरणका प्रवन्ध निर्देशक हितेन्द्रदेव शाक्यका अनुसार, १११ मेगावाट क्षमताको रसुवागढी जलविद्युत् आयोजनाको बाँधको एउटा गेट बगाएको छ। आयोजनाको पुलमा पनि क्षति पुगेको र चिरा परेकाले पुलमा आवतजावत रोकिएको छ। स्थानीय स्रोतका अनुसार अन्य साना जलविद्युत् आयोजना पनि प्रभावित भएका छन्। सरकार, सुरक्षा निकाय र सरोकारवाला निकायहरू मार्फत उद्धार तथा पुनःस्थापना कार्य तीव्र पारिएको जनाइएको छ।




