
स्याङ्जा जिल्लाको साविक भाटखोला गाउँ विकास समितिको आफ्नै गौरव र गरिमा छ । देशमा संघीय व्यवस्था आउनु भन्दा अगाडि रानाभाट जातिको बाहुल्यताकै कारण गा.वि.स नामकरण गरिएको त्यही भाटखोलाको वडा नम्बर ५ मा लोलासरी गाउँ अवस्थित छ ।
विभिन्न किंवदन्तीमध्ये त्यहाँको भू–भाग लोलैलोला जस्तो देखिने भएकाले लोलासरी नामकरण गरिएको पनि पाइन्छ । जुन लोलासरी वर्तमान व्यवस्था अनुसार फेदीखोला गाउँपालिकाको वडा नम्बर ३ अन्तर्गत पर्दछ । प्रस्तुत सन्दर्भ त्यहीँ भाटखोलाको लोलासरीमा नाँभी गाँडिएका विशाल रानाभाटसँग जोडिएको गीत संगीतको हो ।
बुबा गोविन रानाभाट र आमा रमा रानाभाटका कोखबाट जेठा सन्तानका रूपमा जन्मेका हुन्, विशाल रानाभाट । जो यतिबेला नेपाली गीत संगीत क्षेत्रको विशाल सम्भावनाको क्षेत्रमा आफ्ना पखेटा फट्फट्याइरहेका छन् । सुनौलो भविष्यको सपना सजाइरहेका छन् ।
विशालले घर नजिकैको जनताको प्रिय स्कुल जनप्रिय स्कुलमा साँवा अक्षर चिने । त्यही स्कुलबाट एस.एल.सी. पूरा गरे । बुबा भारतीय कम्पनीमा काम गर्ने भएकाले उच्च शिक्षाका लागि भारत नै पुगे । भारतमा उच्च शिक्षालाई अगाडि बढाइरहेका विशाललाई परिवारको जेठो सन्तान हुनुको जिम्मेवारीले अठ्याउँदै थियो ।

स्कुले दिनमा विशाल
गोविन रानाभाटको कमाई तीन छोरासहितको परिवार लालनपालनमै पुगेस्पुगेस् भयो । त्यो देखेपछि विशाल घरको आर्थिक जोहो मिलाउन वैदेशिक रोजगारीमासमेत पुगे ।
घरदेशको माटो सुम्सुम्याउँदा सुम्सुम्याउँदै परदेशको दुःख देख्न पुगेका विशालमा आफ्ना आँसु र पसिनाको खर्च घरदेशमै गर्नुपर्छ भन्ने चेतनाको विकास भयो । उनले परदेश छोडे, घरदेश रोजे ।
सानैदेखि गीतसंगीतमा हुरुक्कै हुने विशाल भित्रको विशाल सम्भावना परदेशको दुःख बुझेपछि बल्ल प्रस्फुटन हुन थाल्यो । पोखराको बिरौटामा बसेर लेकसाइडको गामवेँशी दोहोरी साँझबाट गायन यात्रालाई अगाडि बढाउन पुगे । विभिन्न प्रतियोगिता र कार्यक्रममा आफ्नो प्रस्तुति दिँदै अगाडि बढेका तिनै विशाल रानाभाट मेरो भ्वाइस युनिभर्सको दोस्रो संस्करणमा भोटिङ राउन्डमा पुग्न सफल भएका छन् ।

देशभरका प्रतिभामध्येबाट छनौट भएका विशालको गला र कलाको उपज १३० जनासम्म पुगे । उनको सौभाग्यको कुरा पनि होला, उनले गोल्डेन ह्याम्मर प्राप्त गर्न सफल भएर सीधा टप ४० मा पुगे । टप ४० बाट क्रमशः आफ्नो गायन यात्राको जादुुमयी प्रस्तुतीकै कारण आज विशाल उत्कृष्ट १४ मा पुगेका छन् ।
विशाललाई अब अगाडि बढाउन उनको गायनले मात्र पुग्दैन । दर्शक श्रोताको माया, सद्भाव र स्नेहको आवश्यकता छ । उनलाई एक भोट गर्नु नेपाली लोकसंस्कृतिलाई माया गर्नेको कर्तव्य पनि हो ।
इन्ट्रा नेशनल वेलफेयर एण्ड सपोर्ट फाउन्डेसन अफ अमेरिका, संयुक्त राज्य अमेरिका र नेपालमा दर्ता भएको एक संस्था हो । जसको उद्देश्य नेपाली संस्कृतिलाई विश्वभर प्रवद्र्धन गर्ने रहेको छ । उक्त फाउन्डेसनले नेपाली संस्कृतिलाई विश्वव्यापी रूपमा प्रवद्र्धन गर्न धेरै परियोजनामा काम गरिरहेको छ । ती परियोजनामार्फत् ज्येष्ठ नागरिक, बालबालिका, अपाङ्गता तथा सीमान्तकृत समुदायलाई सहयोग गर्ने लक्ष्य राखिएको संस्थाका अध्यक्ष तथा बोर्ड अफ डाइरेक्टर्स डिल्ली अधिकारी बताउँछन् ।
इन्ट्राले पहिलो संस्करण सम्पन्न गरेर मेरो भ्वाइस यूनिभर्स र मेरो डान्स यूनिभर्सका विजेताले एक–एक करोड रूपैयाँ पुरस्कार प्राप्त गरिसकेका छन् । यस्तै, यूनिभर्सका फस्ट रनरअपहरूले ३० लाख र सेकेन्ड रनरअपहरूले २० लाख रूपैयाँ, डान्स यूनिभर्सतर्फको साँस्कृतिक समूह विधाका विजेताले २० लाख, फस्ट रनरअपले १० लाख र सेकेन्ड रनरअपले पाँच लाख रूपैयाँ पुरस्कार प्राप्त गरेका छन् ।
यो इन्ट्राको दोस्रो संस्करणको अन्तर्राष्ट्रिय नेपाली रियालिटी शो हो । यस शृङ्खलाका विजेतालाई एक करोड, उपविजेतालाई२० लाख र दोस्रोलाई १० लाख रूपैयाँसँगै विभिन्न पुरस्कार प्रदान गरिने २०८१ को मंसिरमा काठमाडौंस्थित हिल्टन होटलमा आयोजित पत्रकार सम्मेलनमा वितरण गरिएको प्रेस विज्ञप्तिमा उल्लेख छ ।

प्रतियोगिताका लागि युएइको दुबई, कतारको दोहा, थाइल्याण्डको बैकक, अस्ट्रेलियाको सिड्नी, जापानको टोकियो, पोर्चुगलको लिस्वन, बेलायतको लण्डन, अमेरिकाको कोलम्बस ओहायो, हङ्कङ, भारतको मुम्बई र सिलिगुरी, नेपालको नेपालगञ्ज, झापा, काठमाडौँ र कास्की अडिसनबाट छनौट भएका स्वनामधन्य प्रतिभामध्ये अहिले १४ जना उपाधिका लागि लडिरहेका छन् ।
१० जना गायक र दक्षता गुरुङ, जुनु प्रसाई, मनिसा क्षत्री, सुष्मा दाहाल चार गायिकासहित १४ जना उपाधिको दौडमा छन् । जसमध्येका विशाल रानाभाटको भोटिङ कोर्ड ०२ रहेको छ ।
आफ्नो कलाले यहाँसम्मको यात्रा तय गरेका विशालका लागि अब सम्पूर्ण नेपाली समुदायको साथ र सहयोग आवश्यक छ । उनलाई भोट गर्न मोवाइलको म्यासेज बक्समा गएर अङ्ग्रेजी अक्षरको एमयुभी जिरो टु (MVU 02) टाइप गरी ३७००० मा पठाउन सकिन्छ । यसका साथै, माइ इन्ट्रा एफ (MY INTRA App) डाउनलोड गरेर एक भोट निःशुल्क गर्न सकिन्छ ।

प्रतियोगितामा गायक दीप श्रेष्ठ, सङ्गीतकार सुरेश अधिकारी, गायिका अन्जु पन्त, तृष्णा गुरुङ, गायक शिव परियार, पुष्पण प्रधानले निर्णायक रहेका छन् ।
स्मरणीय कुरा इन्ट्रा नेशनल वेलफेयर नेपाली कला संस्कृतिप्रति देखाएको सदासयता स्तुत्य छ । तर कलाकारको कला र गलालाई भोट बैंकसँग तुलना गरेर उपाधि प्रदान गरिनु यो प्रतियोगिताका आयोजकका लागि नसुहाउने देखिन्छ । त्यसतर्फ सरोकारवालाले ध्यान दिन आवश्यक छ ।
मोवाइलबाट एक भोट गर्दा नेपाल टेलिकमले छ रूपैयाँ २२ पैसा काट्छ । एपमा एक फ्रि भोट छ । त्यसपछि एक भोटका लागि ५ रूपैयाँदेखि लिएर २० हजार भोटका लागि एकलाख रूपैयाँमा भोट खरिद गरेर उपाधि जित्ने विजेताले आयोजकले चाहे जस्तो कला संस्कृतिको विकास नगर्न पनि सक्छन् ।
भोट नगर्दा निर्णायकमा रहेको स्वार्थको द्वन्द्वले प्रतियोगितालाई नै नोक्सान गर्छ कि, बद्नाम हुन्छ कि भन्ने आयोजकलाई लागेको पनि हुन सक्छ । त्यो भ्रम अन्त्यका लागि नेपाल टेलिकमको म्यासेज गर्दा लाग्ने न्यूनतम् लागतमा भोट गर्न पाउने व्यवस्था मिलाउन आवश्यक छ । नत्र पैसाले बलमा बनेका उपाधि विजेताहरू कालान्तरमा गुमनाम हुन पनि सक्छन् । किनकि, पैसाले उचालेको प्रतिभा ओझेलमा पर्नु र उचालेको कुकुरले मृग नमार्नु उस्तै हो ।
आगामी संस्करणदेखि भोटिङ प्रक्रियालाई व्यवस्थित गरेर प्रतियोगिता अगाडि बढ्यो भने साच्चै आयोजकले सोचे जस्ता प्रतिभाले कला संस्कृतिको संरक्षण र विकासमा टेवा पु¥याउने छन् त्यसमा विज्ञ निर्णायकहरू सही सल्लाह दिन चुक्नु हुँदैन ।
गीत संगीत क्षेत्रमा विशाल सम्भावना बोकेका विशाल रानाभाटलाई सफलताको अग्रिम शुभकामना !





