तस्विरमा पोखरा–९’फोटो प्रदर्शनीमा उल्लेखनिय सहभागिता, (भिडियो सहित)

-


     पोखरा क्लिक     
     असार १३ गते २०८२ मा प्रकाशित


दीननाथ बराल,
पोखरा १३, असार,

नेपाल फोटो पत्रकार संघ (एनपीजेए) कास्कीको आयोजनामा ‘तस्विरमा पोखरा–९’फोटो प्रदर्शनी भएको छ । पोखरा महानगरपालिका वडा नम्वर ९ को सहयोगमा शुक्रबार महेन्द्रपुलस्थित झण्डा पार्क नजिकैको फल्चामा फोटो प्रदर्शनी भएको नपीजेए कास्कीका अध्यक्ष राम गुरुङले पोखराक्लिकलाई जानकारी दिए ।

उक्त कार्यक्रममा फोटो अवलोकन गर्नेहरुको उल्लेखनिय सहभागिता रहेको उनले दाबी गरे । प्रदर्शनीमा पोखरा महानगरपालिका–९ क्षेत्रसँगै पोखराको ऐतिहासिक, पर्यटकीय र समसामायिक विषय झल्कने फोटो राखिएको र फोटोको माध्यमबाट पोखराको पर्यटन प्रवद्र्धनसँगै पोखराको ऐतिहासिकता दर्साउनु कार्यक्रमको मुख्य उद्देश्य रहेको उनको भनाई थियो ।

पोखरामा रहेका फोटो पत्रकारहरुको सीप र कला प्रदर्शनमा पनि यो कार्यक्रमले सघाउने उनको भनाइ थियो ।
एक दिने उक्त फोटो प्रर्दशनीको पोखरा ९ का वडाध्यक्ष दीपेन्द्र मर्सानीले उद्घाटन गर्दै उक्त फोटो पोखरा ९ को दस्तावेज र विकासको नमुना भएको दाबी  गरे । पूराना फोटोले तत्कालिन अबस्था र हालको फोटोले विकास क्रममा माथि उठ्दै गरेको उनको भनाई थियो ।

फोटोको माध्यमबाट पर्यटकले पोखराका बारेमा छिटो जानकारी प्राप्त गर्न सक्ने भएकाले फोटो पत्रकारले गर्न लागेको कार्यक्रममा वडा कार्यालयले साथ दिएको अध्यक्ष मर्सानीले जनाए । पोखरा पर्यटकीय राजधानी घोषणा भइसकेको र पोखरा भ्रमण वर्ष २०२५ सञ्चालन भइरहेको समयमा फोटो प्रदर्शनी भएकोमा महत्वपूर्ण भूमिका खेल्ने उनले बताए । नेपाल पत्रकार महासंघ कास्कीका कार्यवहाक अध्यक्ष माधव रेग्मीले हजार शब्दले उल्लेख गर्न नसक्ने कुरा एउटा फोटोले बुझाउने हुदाँ फोटोको महत्व धेरै भएको दाबी गरे । पोखरा ३ का वडा अध्यक्ष प्रकाशमान उदास सहित विभिन्न जनप्रतिनिधि देखि पत्रकार स्थानिय, बिद्यार्थीहरुको कार्यक्रममा सहभागिता रहेको सचिव सुमन गुरुङले जनाए । यस्ता कार्यक्रमले फोटो पत्रकारलाई थप प्रोत्साहन हुने संयोजक शंजय शाक्यले बताए ।