पोखराको फेवातालमा सीमा स्तम्भ गाड्ने अभियान ३४ प्रतिशत सम्पन्न

-


     पोखरा क्लिक     
     असार १२ गते २०८२ मा प्रकाशित


दीननाथ बराल,

पोखरा १२, असार,

पोखराको फेवातालमा सीमा स्तम्भ गाड्ने अभियान हाल ३४ प्रतिशत सम्पन्न भएको छ । गत जेठ १७ गतेदेखि सुरु भएको उक्त कार्यको हालसम्म ३ सय ६० पिल्लरहरु गाडिएदा ३४ प्रतिशत सीमा स्तम्भ गाड्ने अभियान सम्पन्न भएको पोखरा उपत्यका नगर विकास समितिका कार्यालय प्रमुख प्रकाश सुवेदीले बताउनु भयो ।

सर्वोच्च अदालतको आदेश अनुसार फेवातालको पुनः सीमाङ्कन पश्चात् सीमा स्तम्भ गाड्ने काम तिव्र पारिएको पोखराका मेयर धनराज आचार्यले बताउनु भयो । पोखरा महानगरपालिका, गण्डकी प्रदेश र नेपाल सरकारको संयुक्त पहलमा ताल घरमा सीमा स्तम्भहरू गाड्ने काम सुरुवात भएसंगै बिहीबार फेवातालको भकुन्डे माछा पोखरी क्षेत्रमा पिल्लर गाड्ने कार्यको पोखरा महानगरपालिकाका मेयर आचार्यले निरीक्षण समेत गर्नु भएको छ ।

निरीक्षणका क्रममा उहाँले फेवाताल संरक्षणका सम्बन्धमा सर्वोच्च अदालतको आदेशानुसार महानगरपालिकाले सम्बद्ध निकायहरूसँग समन्वय गरी आवश्यक कार्यहरू तिव्र रुपमा अघि बढाउदै आएको दाबी गर्नुभयो । ताल घरमा सीमा स्तम्भ गाड्ने कार्यमा खटिएका सर्वेक्षक, प्राविधिक, नगर प्रहरी, नेपाल प्रहरी र सशस्त्र प्रहरी बललाई उहाँले हौसला प्रदान गर्नुभएको छ ।

एक ऐतिहासिक कार्यको साक्षीका रूपमा उनीहरूको योगदान अतुलनीय रहेको मेयर आचार्यले बताउनु भयोे । निष्ठाका साथ फेवातालको प्राकृतिक न्यायका लागि लागि रहेका सवैप्रति उहाँले आभार पनि व्यक्त गर्नुभएको छ । पहिलो चरणमा ताल घरमा सीमा स्तम्भ गाड्ने र दोस्रो चरणमा थप काम सुरुवात गर्ने महानगरपालिकाको योजना रहेको उहाँको भनाई छ ।