रोपाइँ महोत्सव असार १५ मा पोखरा २६ स्थित लेखनाथको गुँदेताल (तालबेसी) मा हुने

-


     पोखरा क्लिक     
     असार ११ गते २०८२ मा प्रकाशित


दीननाथ बराल,

पोखरा ११, असार,

२० औं संस्करणको असारे रोपाइँ महोत्सव २०८२ यस बर्ष यही असार १५ गते पोखरा २६ स्थित लेखनाथको गुँदेताल (तालबेसी) क्षेत्रमा हुने भएको छ । पोखरा सबै मौसमका लागि भन्ने मूल नाराका पोखरा पर्यटन परिषद्को आयोजनामा स्थानिय शान्तिप्रेमी आमा समूहको संयोजनमा असार १५ रोपाई महोत्सव हुने भएको परिषदले जनाएको छ ।

महोत्सवबाट पोखरा तथा गण्डकी प्रदेशमा आन्तरिक तथा बाह्य पर्यटनको प्रवद्र्धनमा थप टेवा पुग्ने तथा पोखरा भ्रमण वर्ष २०२५ लाई सफल बनाउने, नेपालको परम्परागत कृषि प्रणाली तथा उत्पादन प्रक्रियाको प्रत्यक्ष अवलोकन गर्ने, गुँदेताल र आसपासका पर्यटकीय गन्तव्यको प्रवद्र्धन गर्ने लगायतका उद्देश्य राखिएको पोखरा पर्यटन परिषद्का अध्यक्ष तारानाथ पहारीले मंगलबार आयोजित पत्रकार भेटघाट कार्यक्रममा बताए ।

महोत्सवमा हिले दौड, रोपाइँ प्रतियोगिता, हिलोमा माछा छोप्ने प्रतियोगितासँगै उत्कृष्ट कृषक सम्मान आदि कार्यक्रम राखिएको परिषद्का महासचिव जीवनराज सापकोटाले बताए । महोत्सवमा विभिन्न देशका विदेशी पर्यटकहरुको साथ हुने उनले बताए ।

महोत्सवको प्रवद्र्धकका रुपमा उद्योग तथा पर्यटन मन्त्रालय, गण्डकी प्रदेश, नेपाल पर्यटन बोर्ड छन् भने पोखरा महानगरपालिका, पोखरा महानगरपालिका वडा नं २६ को कार्यालय र लेखनाथ उद्योग वाणिज्य संघले सहकार्य गरेका छन् । महोत्सवले गुँदे तालसहित समग्र लेखनाथ क्षेत्रको पर्यटन प्रवद्र्धनमा योगदान पुग्ने पोखरा महानगरपालिका वडा नं २६ का अध्यक्ष नरेन्द्र थापाले बताए । पोखरामा खेति योग्य जमिन बचाउन पनि उक्त महोत्सव कोषेढुंगा सावित हुने पूर्व अध्यक्ष पोमनारायण श्रेष्ठले बताउनु भयो ।

कार्यक्रममा पोखरा भ्रमण वर्ष २०२५ कार्यसम्पादन समितिका सहसंयोजक दामोदर भक्त थापा, लेखनाथ उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष राजेन्द्र ओझा, पोखरा २६ का वडा सदस्य सुदीपराज ढुङ्गाना, समाजसेवी बामदेव ढुङ्गाना, शान्तिप्रेमी आमा समूहका अध्यक्ष देवीमाया ढुङ्गाना लगायतले बोलेका थिए । परिषदले विगत २०६१ सालबाट वर्षेनी असारे रोपाइँ महोत्सव गर्दै आएको छ ।