भ्रष्टाचारमा मबाटै छानबिन सुरु गर्न सकिन्छ ः अध्यक्ष डा. बाबुराम भट्टराई (भिडियो सहित)

-


     पोखरा क्लिक     
     असार ११ गते २०८२ मा प्रकाशित


दीननाथ बराल,

पोखरा, असार ११,

नेपाल समाजवादी पार्टी (नयाँ शक्ति) पार्टीका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री डा.बाबुराम भट्टराईले आफू कहिल्यै भ्रष्टाचारमा संलग्न नभएको दाबी गर्दै अहिले पनि आफुबाटै छानबिन सुरु गर्न चुनौती दिनुभएको छ । नयाँ शक्ति गण्डकी प्रदेशले मंगलबार पोखरामा आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा बोल्दै उहाँले देशमा तीन ठुला दलबाट भ्रष्टचार भएको दाबी गर्दै आफुमा कुनै शंका लागेमा आफुबाटै छानविन गर्न सकिने बताउनु भएको हो ।

डा. भट्टराईले भन्नुभयो “मैले कहीँ कतै राज्यलाई एक रुपैयाँ नोक्सान हुने काम गरेको प्रमाण छ भने म तयार छु, छानबिन मबाटै सुरु होस्।“ उहाँले विगतदेखि अहिलेसम्म आफूविरुद्ध कसैले पनि भ्रष्टाचारको आरोप लगाउन नसकेको बताउनुभयो। भ्रष्टाचारमा लिप्त ठेकेदार, कमिसनखोर र तिनलाई संरक्षण गर्ने दलहरूकै कारण देशको विकास प्रक्रिया प्रभावित भएको उहाँको भनाइ थियो। “चुनाव जित्न ठेकेदारसँग पैसा लिएर सत्तामा पुग्ने र त्यसपछि राज्यकोषको दोहन गर्ने प्रविधि अहिले संस्थागत बनेको छ,” भट्टराईले आरोप लगाउनुभयो। उहाँले नेपाली कांग्रेस, नेकपा एमाले र पछिल्लो चरणमा माओवादी केन्द्र समेतले भ्रष्टाचारलाई संस्थागत बनाएको आरोप लगाउनुभयो।

राजनीतिक स्थायित्वका लागि प्रत्यक्ष निर्वाचित राष्ट्रपतीय प्रणाली र पूर्ण समानुपातिक निर्वाचन प्रणालीमा जानुपर्नेमा समेत उहाँले जोड दिनुभयो। “राजनीतिक भ्रष्टाचारको मूल जड वर्तमान निर्वाचन प्रणाली नै हो,“ भट्टराईले भन्नुभयो। उहाँले आफूहरू जनमत निर्माण गर्दै वैकल्पिक शक्तिका रूपमा अगाडि बढिरहेको पनि बताउनुभयो। “हामी सत्तामा पुग्दा वैकल्पिक राजनीतिक संस्कार के हो भन्ने देखाउनेछौं,” अध्यक्ष भट्टराईले भन्नुभयो।

त्यसैगरी, गण्डकी प्रदेशका ऊर्जा, जलस्रोत तथा खानेपानी मन्त्री एवं समाजवादीका प्रभावशाली नेता फरेन्द्रराज देवकोटाले पार्टीलाई संगठनात्मक रूपमा विस्तार गर्न भदौ १४ गतेभित्र सबै वडाहरूमा सम्मेलन तथा भेला गर्ने कार्यक्रम रहेको जानकारी दिनुभयो। आउँदो भदौ २१ गते पालिकास्तरीय सम्मेलन, २८ गते जनवर्गीय मोर्चा तथा सङ्घ–संगठनहरूको भेला र कात्तिक १५ गते प्रदेश सम्मेलन गर्ने निर्णय पार्टीले निर्णय गरेको उहाँले जनाउनु भयो । बैठकले गण्डकी प्रदेश महाधिवेशन समितिको संयोजकमा नेत्र चापागाईंलाई जिम्मेवारी दिने निर्णय पनि गरेको मन्त्री देवकोटाले जानकारी दिनुभयो।