
oplus_2048
पोखरा, असार १०,
पोखरा मासवारमा रहेको स्टेप बाई स्टेप माध्यमिक विद्यालयको आयोजनामा ‘गण्डकी प्रदेश स्तरीय तेस्रो एसईई फुटसल प्रतियोगिता’ सुरु भएको छ। एसईई परीक्षा पछि फुर्सदमा रहेका विद्यार्थीलाई लक्षित गरी आयोजना गरिएको प्रतियोगिता मंगलबारदेखि पोखरामा सुरु भएको हो।
प्रतियोगिताको उद्घाटन विद्यालयका संस्थापक निर्देशक रमाकान्त बराल र प्राचार्य निर्मला बरालले संयुक्त रूपमा एन्फाका रेफ्रीलाई बल हस्तान्तरण गरी गर्नुभएको थियो। उद्घाटन समारोहमा बोल्दै निर्देशक बरालले शिक्षासँगै खेलकुदमा पनि विद्यार्थीको सक्रियता जरुरी रहेको बताउँदै विद्यालयले दुवै पक्षमा समान जोड दिँदै आएको उल्लेख गर्नुभयो। प्राचार्य बरालले खेलकुदले शारीरिक र मानसिक तन्दुरुस्तीका साथै आपसी भाइचाराको भावना अभिवृद्धि गर्ने बताउँदै सहभागी सबै खेलाडीलाई शुभकामना दिनुभयो।
प्रतियोगितामा कास्की, तनहुँ, बागलुङलगायतका जिल्लाबाट २६ टोलीको सहभागिता रहेको छ। मंगलबार सम्पन्न खेलमा स्टेप बाई स्टेप ‘ए’, ऐपेक्स एफसी, मुखिया एफसी, वेल नन एकेडेमी, दिपक एफसी, एमबेस्डर पोखरा, खरबारी एफसी र रबिन एफसी विजयी हुँदै क्वाटर फाइनलमा प्रवेश गरेका छन्।
प्रतियोगिता बुधबारसम्म सञ्चालन हुनेछ। क्वाटर फाइनल, सेमिफाइनल र फाइनल खेल बुधबार नै सम्पन्न हुने आयोजकले जनाएको छ। विजेता टोलीले नगद ३० हजार रुपैयाँसहित ट्रफी, मेडल, प्रमाणपत्र र कक्षा ११ तथा १२ अध्ययनका लागि पूर्ण छात्रवृत्ति प्राप्त गर्नेछ। उपविजेताले १५ हजार रुपैयाँ नगद, ट्रफी, मेडल, प्रमाणपत्र तथा सोही कक्षामा ५० प्रतिशत छात्रवृत्तिको व्यवस्था रहेको संयोजक तथा सहप्राचार्य दीपक गिरीले जानकारी दिनुभयो। त्यसैगरी उत्कृष्ट खेलाडी, सर्वाधिक गोलकर्ता तथा उत्कृष्ट गोलरक्षकले पनि छात्रवृत्तिसहित नगद पुरस्कार प्राप्त गर्नेछन्।





