गण्डकी कप महिला राष्ट्रिय ह्याण्डबल हुँदै

-


     पोखरा क्लिक     
     असार १० गते २०८२ मा प्रकाशित


पोखरामा प्रथम गण्डकी कप महिला राष्ट्रिय ह्याण्डबल प्रतियोगिता हुने भएको छ । गण्डकी प्रदेश ह्याण्डबल संघको आयोजनामा आगामी बिहिबारदेखी राष्ट्रिय महिला ह्याण्डबल प्रतियोगिता हुन लागेको हो ।

१२ गतेदेखी हुने प्रतियोगितामा कुल ८ टिमको सहभागिता रहनेछ । प्रतियोगितामा आयोजक गण्डकी प्रदेश सहित बागमति प्रदेश, माधेश प्रदेश, लुम्बिनी र कर्णाली प्रदेशको सहभागिता रहनेछ । यस्तै विभागीय कलब एपीएफ र आर्मीको सहभागिता रहने प्रतियोगिता संयोजक तथा संघका उपाध्यक्ष गिरमान गुरुङले जानकारी दिए । लिगकम नकआउटको आधारमा हुने प्रतियोगिताको विजेताले १ लाख रुपैयाँ, उपविजेताले ५० हजार, तेस्रोले ३० तथा चौथो हुनेले २० हजार रुपैयाँको साथमा शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गर्ने कोषाध्यक्ष कृष्ण सिंह बस्नेतले जानकारी दिए । १२ गतेदेखी १४ गतेसम्म सञ्चालन हुने प्रतियोगिता पोखरा रंगशालास्थित पोखरा ह्याण्डबल एकेडेमीको कोर्टमा हुनेछ ।

बुल्समेन क्लबको सहयोग

शारिरीक सुगठन खेलमा नेपालकै चर्चित क्लब बुल्समेन कलबले पहिलो पटक पोखरामा हुन लागेको उक्त प्रतियोगिताका लागि आर्थिक सहयोग गरेको छ । क्लबका संस्थापक एवं समाजसेवी इश्वर गुरूङले कलबको तर्फबाट ५० हजार रुपैयाँ सहयोग गरेको छ । क्लबका अध्यक्ष नुना गुरूङ, क्लबका वरिष्ठ सल्लाहकार सन प्रसाद गुरूङ, सचिब उदिम गुरूङले गण्डकी प्रदेश ह्याण्डबल संघका अध्यक्ष केशव पाठकलाई नगद हस्तान्तरण गरे ।

क्लवका संस्थापक इश्वर गुरूङले यस अघि बुल्समेन क्लबको अक्षयकोष स्थापनार्थ नगद रु १ लाख प्रदान गरेका थिए । रकम ग्रहण गर्दै अध्यक्ष पाठकले क्लबका संस्थापक इश्वर गुरूङ, क्लबका अध्यक्ष नुना गुरूङ, सचिब उदिम गुरूङ, वरिष्ठ सल्लाहाकार सन प्रसाद गुरूङलगायत बुल्समेत परिवार प्रति आभार प्रकट गर्दै सो सहयोग गण्डकीको यूवा खेलाडी उत्पादनका लागि महत्वपूर्ण हुने जनाए । रकम हस्तान्तरण कार्यक्रममा गण्डकी ह्याण्डबल संघकी उपाध्यक्ष शान्ती थापा वैद्य, कार्यसमिति सदस्य विष्णुमाया गुरूङ, कास्की ह्याण्डबलका अध्यक्ष चित्र बहादुर थापालगायतको उपस्थिती रहेको थियो ।

क्लबले सो रकम प्रदान गरे संगै बुल्समेन क्लब सहप्रायोजकको रुपमा रहने आयोजक ह्याण्डबल संघले जनाएको छ । सो प्रतियोगिता प्रदेश खेलकुद परिषद गण्डकीको प्रवद्र्धन तथा कास्की जिल्ला ह्याण्डबल संघको प्राविधिक सहयोगमा हुनेछ । महिला राष्ट्रिय ह्याण्डबल प्रतियोगिता करिव चार वर्ष पछि हुन लागेको हो । २०६९ सालमा पोखरामा गठन भएको बुल्समेन क्लबले हरेक दुई वर्षमा शारिरिक सुगठन प्रतियोगिता आयोजना गर्दै आइरहेको छ । चौथो संस्करणको प्रतियोगिता सम्पन्न गरिसकेको क्लबले अब चाँडै नै पाँचौ सस्करणको प्रतियोगिता गर्ने तयारीमा रहेको छ ।