गण्डकी प्रदेशसभा हलमा बजेटको किताब च्यात्दै सांसद जुग्जालीको आक्रोश ः ‘यो अन्यायको दस्तावेज हो’

-


     पोखरा क्लिक     
     असार ९ गते २०८२ मा प्रकाशित


दीननाथ बराल
पोखरा, असार ९,

गण्डकी प्रदेशसभामा सोमबार एक असाधारण दृश्य देखियो, जब नेकपा (माओवादी केन्द्र) का सांसद तथा गण्डकीका पूर्व भौतिक पूर्वाधार मन्त्री रेशम बहादुर जुग्जालीले सदनको रोष्ट्रमबाटै बजेटको पुस्तक च्यात्दै सरकारको बजेटप्रति तीव्र असन्तुष्टि पोखे।

सभामुख समक्ष अनुमति माग्दै उनले उक्त बजेट च्यातेका हुन् । विशेषगरी म्याग्दी जिल्लालाई अत्यन्त न्यून बजेट विनियोजन गरिएको भन्दै उनी असन्तुष्ट मात्रै होइन, आक्रोशित हुदै भौतिक पूर्वाधार मन्त्रालयले म्याग्दीका लागि साढे ३ करोड मात्र बजेट विनियोजन गरेको भन्दै उनले प्रश्न उठाए, “म्याग्दीको भूगोल थाहा छैन भने मेरै खर्चमा घुमाउँछु।”

जुग्जालीले बजेटले सत्तासीनहरूको पूर्वाग्रह झल्काएको आरोप लगाए। “मेरो भागमा परेको दुई करोड पनि फिर्ता लैजानुस्। हामीलाई यस्तो अन्यायपूर्ण बजेटको किताब चाहिँदैन,” भन्दै उनले किताब च्यातेर रोष्ट्रममै फालिदिए।
सांसद जुग्जालीले प्रदेश सरकारको बजेट योजनामाथि कटाक्ष गर्दै भने, “यो बजेट सत्तापक्षकै सांसदहरूलाई पनि चित्तबुझ्दो छैन। यो जनताको अपेक्षा होइन, सत्ता समीकरणको खेल हो।” उनले टिप्पणी गरे— “बजेट सगरमाथा हिँड्न खोजेको तर हिन्दसागरतिर पुगेको छ।”

सभाहलमा केही सांसदहरू मौन बसे पनि धेरैले जुग्जालीको साहसी कदमलाई मौन समर्थन जनाएका देखिन्थे। जुग्जालीले यो बजेट देवीदेवतालाई मात्र खुसी पार्ने खालको भएको भन्दै अर्थमन्त्री र भौतिक पूर्वाधार मन्त्रीलाई म्याग्दीको गुर्जादेखि नारच्याङ हुँदै दारखोलासम्म आफैँ घुमाउने चेतावनी पनि दिए। पूर्व मन्त्री समेत रहेका सांसद जुग्जालीको यस्तो कडा अभिव्यक्ति र कदमसँगै अब गण्डकीको बजेटमाथि सत्तापक्षभित्रै पनि असन्तुष्टिको स्वर चर्किने सम्भावना बढेको छ।