पोखरामा ८२ तोला अवैध सुन सहित दुई जना पक्राउ, १ करोड ३० लाख बराबरको गरगहना बरामद

-


     पोखरा क्लिक     
     असार ७ गते २०८२ मा प्रकाशित


दीननाथ बराल,

पोखरा, ७ असार,

पोखरामा ८२ तोला अवैध सुन सहित दुई जना पक्राउ परेका छन् । यही असार ६ गते पोखराबाट बुटवल तर्फ जादै गरेको माइक्रोबसलाई पोखरा २२ पुम्दी भुम्दीमा खानतलसी गर्दा ८२ तोला अवैध सुन सहित दुई जना पक्राउ गरिएको कास्की प्रहरीले जनाएको छ ।

पक्राउ पर्नेमा भारत पंजावका ४९ बर्षीय कुलदीप सिंह र रुपन्देही तिलोत्तमा नगरपलिका १६ पुर्वबहिया नगरपालिका वडानम्बर १६ घर भएका ४७ बर्षीय रामबहादुर विक रहेको जिल्ला प्रहरी कार्यालय कास्कीले शनिबार पोखरामा आयोजित पत्रकार भेटघाट कार्यक्रम मार्फत जनकारी गराएको हो ।

प्रहरीले बरामद गरगहना र पक्राउ परेका दुवै जनालाई थप अनुसन्धान तथा कारबाहीका लागि राजश्व अनुसन्धान कार्यालय, बुटवल पठाएको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रमुख (एसपी) श्यामबाबु ओलियाले बताउनु भयो । साना–ठूला सुनका ढिक्का २ तोला २३ लाल, सिक्री २९ थान (१० तोला ३१ लाल), दानावाला माला १ थान (२ तोला ९४ लाल), हिरा तथा पथ्थर जडित औंठी ५७ थान (१० तोला ५४ लाल), कानमा लगाउने जुली १ सय ६२ जोर (२७ तोला ६३ लाल), मंगलसुत्र , ७ थान (५ तोला) लकेट ९९ थान (१३ तोला १२ लाल), पोते (कालो र रातो माला सहित) १९ थान (९ तोला ३९ लाल) र झुम्काका टुक्रा १ तोला सुनका गरगहन उहाँहरुको साथबाट बरामद गरिएको उहाँले जनाउनु भयो । बरामद भएका सुनका ९ प्रकारका गरगहना र सुनको डल्ला रहेको प्रहरीले उल्लेख गरेको छ । भारतको अमृतसरस्थित अमरजित साहु नामक व्यक्तिको सुन पसलबाट गरगहना ल्याउने र विभिन्न भारतीय राज्यहरूमा विक्री गर्दै आएका सिंहले नेपालमा पनि बिक्री गर्ने योजना सहित पोखरा आएको हुन सक्ने प्रहरीले प्रारम्भिक अनुसन्धानबाट जनाएको छ ।

विशेष सुराकीका आधारमा प्रहरीले सुनका गरगहना सहित दुई जनालाई पक्राउ गरेको हो । प्रारम्भिक अनुसन्धानबाट कुलदिप सिंह ३ बर्ष पहिले देखी नै राम बहादुर बि. क. सँग फेसबुक मार्फत साथी भएको एसपी ओलियाले बताउनु भयो । उहाँहरु दुबै जना सुनको गरगहना सम्बन्धी काम गर्दै आउनु भएको थियो । कुलदिप पछिल्लो समयमा भारतको जुपि, गोरखपुर, बिहार, उडिसा दिल्ली, हरियाणा लगायतको स्थानमा सुनका गरगहना बेच्दै हिड्ने गरेकोमा नेपालमा पनि बेच्ने योजना बनाएको प्रहरीले जनाएको छ । कुलदिप सिंह राम बहादुर वि.क.लाई लिएर गत असार ४ गते बुधबार नै पोखरा आई सुन बिक्री गर्न खोजेको प्रहरीले उल्लेख गरेको छ ।