
अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज (अनेसास) पोर्चुगल च्याप्टरका वरिष्ठ उपाध्यक्ष गीतकार, गायक नायक तथा संगीतकार सागर शाह एन. जे. आफ्नो नयाँ गीत ‘मुटु’सहित पुनः उदाएका छन् ।
२०५२ सालमा सिञ्जा व्यान्डबाट ‘धौलागिरी फेदमा हिऊँ पर्यो’ गीतसहित गायन यात्रामा लागेका सागरको मुटु गीत तीन दशकदेखिको अनवरत यात्राको अनुपम कोसेली रहेको छ ।
सात दर्जन बढी गीतमा स्वर तथा संगीत भरिसकेका सागरका जाऊँ है कान्छी पोखरा, अचानक, तिमीलाई कहाँ राखु, पोखराको चिसो हावाले, पोखरेली कान्छी, नजरैको गोलीले, दिन ढल्छ, नजरैले हान्यो सर्वाधिक लोकप्रिय गीत हुन् ।
शाहले पछिल्लो गीत मुटुलाई आफ्नै अफिसियल यूट्युब च्यानल सागर शाह एनजेबाट सार्वजनिक गरेका हुन् ।
स्मरणीय सन्दर्भ के भने अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज गण्डकीबाट आजीवन सदस्यता ग्रहण गरेर अनेसासको मन्दिर पुगेका शाहले अनेसास पोर्चुगल च्याप्टर वरिष्ठ उपाध्यक्ष निर्वाचित भएकै दिन नयाँ सांगीतिक कोसेली अनेसासको मञ्चमा उपहार भेट गरेका हुन् ।
शाहकै स्वर, शब्द र संगीत रहेको गीतमा राजेन्द्र विष्ट क्षत्रीको एरेन्ज र सिजन बज्रचार्यको रेकर्डिङ रहेको छ । गीतमा भिडियो डिरेक्सन तथा सम्पादन नेत्र गुरुङले गरेका छन् । यस्तै छयाङ्कनमा सुवास सुवेदी र मिक्सिङमा असिम शेरचनले साथ दिएका छन् ।
भारतको मेघालयमा जन्म भई लमजुङको मध्य नेपाल पुख्र्यौली थलो रहेका सागर घरदेशमा रहँदा मात्र होइन परदेशमा रहेर पनि सुगम संगीतका क्षेत्रमा क्रियाशील छन् ।
नेपालका विभिन्न सांगीतिक कार्यक्रममार्फत् आफ्नो प्रस्तुति राखेका शाहले भारत, जापान, मलेसियासहित युरोपका विभिन्न देशमासमेत आफ्नो प्रस्तुति राखिसकेका छन् । शाह ऋषिराम रानाभाट स्मृति सम्मानसहित दर्जनौं सम्मान पुरस्कारबाट विभूषित क्षमतावान प्रतिभा हुन् ।






