पोखरा कलेज अफ म्यानेजमेन्टमा विद्यार्थीको नमूना पत्रकार सम्मेलन

-


     पोखरा क्लिक     
     असार ६ गते २०८२ मा प्रकाशित


पोखरा कलेज अफ् म्यानेजमेन्टमा बि.बी.ए. आठौं सेमेस्टरका विद्यार्थीले शुक्रबार नमूना पत्रकार सम्मेलन अभ्यास गरेका छन् ।

पोखरा उद्योग वाणिज्य संघको सभा कक्षमा दुई सेक्सनका ६९ विद्यार्थीले ६ वटा समूहमा बाँडिएर अभ्यासको प्रस्तुतिकरण गरेका थिए ।

कार्यक्रममा क्याम्पस प्रमुख लीना श्रेष्ठ नेगीले विद्यार्थीले यस्ता कार्यक्रमबाट आफ्नो व्यवसायिक जीवनमा अत्यन्त काम लाग्ने सीप सिकेकोमा खुसी व्यक्त गरिन् ।

कार्यक्रमबाट कार्यक्षेत्रमा मिडियासँग सम्बन्ध राख्न, पत्रकार सम्मेलन सञ्चालन गर्न तथा प्रेस विज्ञप्ति तयार गर्न सिकेको विषय शिक्षक सुवास मल्लले जानकारी दिए ।

बि.बी.ए. अन्तिम सेमेस्टरमा ‘मिडिया र जनसम्पर्क’ विषय अध्ययनरत विद्यार्थीले कार्यक्रममार्फत् मिडियासँग समन्वय गर्ने कला सिकेको कलेजका दिवा कार्यक्रम संयोजक सरोज कुँवरले बताए ।

कार्यक्रममा पत्रकार शान्ति गुरुङ्ग, शोभाकान्त सिग्देल र केशव शरण लामिछानेले विद्यार्थीको प्रस्तुतीकरणमा टिप्पणी तथा मूल्याङ्कन गरेका थिए ।

कार्यक्रममा सहभागी विद्यार्थी दिया भारीले पोखरामा लामो समयदेखि पत्रकारिता गरिरहेका पत्रकारहरुबाट आफ्नो नमूना पत्रकार सम्मेलनमा पृष्ठपोषण पाउँदा वास्तविक सिकाई भएको अनुभव बाँडिन् ।

कलेजले विगत दुई दशकदेखि पोखरा विश्वविद्यालयबाट सम्बन्ध प्राप्त गरी व्यवस्थापन संकायमा अध्ययन अध्यापन गराउँदै आएको छ । कलेजमा बिहानी तथा दिवा सत्रमा छ सय बढी विद्यार्थी बि.बी.ए, बि.बी.ए. फाइनान्स र बिसीएस आइटी अध्ययन गरिरहेको जनाइएको छ ।