
दीननाथ बराल,
पोखरा ५, असार,
पर्यटनको राजधानि पोखराको प्रमुख प्रशासनिक केन्द्र एवं नेपाल राष्ट्र बैंक भएको अति नै संवेदनशिल क्षेत्र नजिकै अतिनै प्रज्वलनशिल पदार्थ पेट्रोलियम पदार्थको बिक्रि वितरण हुने भएको छ । स्थानियको बिरोधको बाबजुत जिल्ला प्रशासन कार्यालय कास्कीसंगै जोडिएको शहिदचोकमा अबको केही साता पछि नेपाल प्रहरीको पेट्रोलपम्प अति सम्बेदन शिल क्षेत्रमा निर्बाद रुपमा संचालनमा आउने तयारी भएको श्रोतको भनाई छ ।
प्रदेशिक प्रहरी कार्यालय गण्डकीका प्रमुख प्रहरी नायव महानिरिक्षक(डिआईजी) दिनेशकुमार आचार्यले अबको करिब डेढ महिनामा पोखरामा उक्त पेट्रोलपम्प संचालनमा आउने गरी निर्माण कार्य हाल तिव्र पारिएको बताउनु भयो । गत वैशाख महिनाको अन्तिम साता सरुवा भई प्रदेशिक प्रहरी कार्यालय गण्डकी (पोखरा) मा उहाँ आउनु भएको हो । त्यसै गरी जिल्ला प्रशासन कार्यालय कास्कीका प्रमुख जिल्ला अधिकारी रुद्रा देवि शर्मा समेत केही साता अघि कास्कीमा सरुवा भई आउनु भएकोले यस बिषयमा जिज्ञासा राख्न पोखराक्लिकलाई उपयुक्त लागेन् ।
सरकारी कार्यालयहरु भएको स्थानमा प्रहरीले पेट्रोल पम्प बनाउन लागेपछि नागरिक समाज सहित स्थानीयले विरोध गर्दै आएका थिए । नागरिक समाज पोखराको तर्फबाट असोज ८ मा परेको रिटमा गएको असोज १० गते प्रारम्भिक सुनुवाइ गर्दै न्यायाधीश राजुकुमार खतिवडाको इजलासले विपक्षीका नाममा कारण देखाउ आदेश जारी गरेको थियो ।
साबिकको अञ्चल प्रहरी कार्यालय रहेको स्थानमा नेपाल प्रहरीले पेट्रोल पम्प बनाएको हो । पोखराका नागरिक अगुवा रामबहादुर पौडेल लगायतले प्रदेश प्रहरी कार्यालय लगायतका सरकारी कार्यालयलाई विपक्षी बनाएर रिट दायर गरेका थिए । सरकारी कार्यालयहरु रहेको संवेदनशील ठाउँमा अति प्रज्वलनशील पदार्थको भण्डारण र बिक्रि वितरण गर्न नहुने जिकिर गर्दै रिट दायर गरेका थिए ।
एनसी÷अल्फा—हेक्स÷तेजस्वी जे.भि.पोखरी चौरी—३, काभ्रे ठेकेदार कम्पनीले २०८२ असार २० गते उक्त पेट्रोल पम्प सहितको भौतिक संरचना निर्माण गर्ने गरी नेपाल प्रहरी प्रधान कार्यालय कल्याण महाशाखा, नक्साल काठमाण्डौंसंग गत असार २१ गते सम्झौता गरेको हो । उक्त परियोजनाको लागत भने कर समेत गर्दा ९ करोड ९६ लाख ६५ हजार ७ सय २९ रुपैया रहेको छ ।
आम जनताको आवातजावात हुने प्रशासन कार्यालयसंगै र राष्ट्र बैंकसंगै उक्त अति प्रज्वलनशिल पदार्थ पेट्रोल पम्प कुनै पनि हालतमा राख्न नहुने नागरिक समाज पोखराका अगुवा राम बहादुर पौडेलले बताउदै आउनु भएको थियो ।





