
जया पौडेल,
पोखरा ४, असार,
पोखरामा आयोजना भएको अन्तर बिद्यालय स्तरिय छात्र तथा छात्रा ह्याण्डवल प्रतियोगितामा छात्र तर्फ पोखरा एकेडेमी र छात्रा तर्फ हिमालयन वोर्डिङ स्कुलले उपाधि जितेका छन् । पोखरा रंगशालामा हालै सम्पन्न भएको उक्त प्रतियोगितामा छात्र तर्फको फाइनल खेलमा पोखरा एकेडेमीले हिमालयन वोर्डिङ स्कुललाई र छात्रा तर्फको फाइनल खेलमा भने हिमालयन वोर्डिङ स्कुलले माउण्ट अन्नपूर्ण माविलाई पराजित गर्दै उपाधि जितेका हुन् ।
छात्र तर्फ पोखरा लर्नस एकेडेमी र छात्रा तर्फ भने गण्डकी बोर्डिङ स्कुल तेश्रो भएका छन् । विजेता टोलीले नगद १३ हजार, उपविजेताले जनही १० हजार र तेश्रो हुनेले ७ हजार साथमा ट्रफी मेडल प्रमाण पत्र प्राप्त गरे । प्रदेश खेलकुद परिषद गण्डकीको प्रबद्र्धनमा भएको प्रतियोगितामा गण्डकी प्रदेशका पूर्व मन्त्री एवं प्रदेश सभा सदस्य पन्चराम गुरुङ, परिषदका उपाध्यक्ष धोजकुमार गुरुङ, पोखरा १७ का वडा अध्यक्ष राधिका कुमारी शाही, सदस्य बिक्रम गुरुङ, प्रदेश ह्याण्डवल संघका अध्यक्ष केशव पाठक, जिल्ला अध्यक्ष चित्र थापा लगायतको उपस्थिति रहेको थियो ।
असार १ गते देखि पोखरा रंगशालामा सुरु भएको प्रतियोगिता सु—शान्त बाल क्लब पोखरा–१७ को व्याबस्थापन र सु—शान्त आमा समुहको आयोजनामा मंगलबार समापन भएको सु—शान्त आमा समुहका अध्यक्ष पवित्रा थापा रेग्मी बताउनु भयो । जिल्ला ह्याण्डबल संघ कास्कीको प्राविधिक सहयोगमा प्रतियोगिता सम्पन्न भएको क्लबका अध्यक्ष एवम निर्देशक परिवेश थापाले बताउनु भयो ।





