पोखरा क्लिकका सम्पादक दिननाथ बराल सहित १० जना खेल पत्रकारलाई राष्ट्रिय प्रोत्साहन पुरस्कार

-


     पोखरा क्लिक     
     असार ३ गते २०८२ मा प्रकाशित


पोखरा- ३, असार,

गण्डकी प्रदेशका खेल पत्रकार एवं यस पोखरा क्लिक डटकमका सम्पादक दिननाथ बराल सहित देशभरका १० जना खेलकुद पत्रकारलाई युवा तथा खेलकुद मन्त्रालयबाट राष्ट्रिय प्रोत्साहन पुरस्कार प्रदान गरिने भएको छ । मन्त्रालयले प्रकाशित गरेको आधिकारिक सूचना अनुसार, आर्थिक वर्ष २०८१÷८२ का लागि आवेदन आह्वान गरेपछि प्राप्त आवेदनहरूको मूल्याङ्कन गरेर छनोट गरिएको हो ।

पुरस्कार स्वरूप प्रत्येक पत्रकारलाई २५ हजार रुपैयाँ नगद सहित सम्मान गरिने भएको मन्त्रालयले जनाएको छ । बराल पोखरामा केन्द्रित रही विगत २३ वर्षदेखि निरन्तर खेलकुद पत्रकारितामा क्रियाशील छन् । उनी रेडियो नेपाल, कारोबार दैनिक र पोखरा क्लिकजस्ता सञ्चारमाध्यमसँग आबद्ध छन्। ८ देशमा भ्रमण गरेका बराल हिमाल खबर पत्रिका, रेडियो अन्नपूर्ण, आर्थिक अभियान, हट्लाइन दैनिक, जनमत दैनिक, रेडियो तनहुँ, रेडियो स्याङजा, प्राप्ती त्रैमासिक, ग्लासिफाइड साप्ताहिक, फेवा टेलिभिजन, पोखरा न्यूज डटकम, वर्तमान सहकारी आवाज लगायतका संचार माध्यममा काम गरेका थिए ।

पत्रकार बराल अमेरीकी दुतावास र शेयरकास्टको फेलोसिप रिपोटीङमा गण्डकी प्रदेशमा ७ जना भित्र छनौट (२०७६) भई नगद ३० हजार नगद प्राप्त, सहारा खेलकुद पत्रकार पुरस्कार २०६८, साविक जिल्ला विकास समितिबाट उत्कृष्ट पत्रकार सम्मान, जिल्ला खेलकुद विकास समितिबाट उत्कृष्ट पत्रकार पुरस्कार, सार्वजनिक यातायात समन्वय पत्रकारिता सम्मान, रेडियो अन्नपूर्णको बर्ष उत्कृष्ट पत्रकारिता पुरस्कार (२०७२), नेपाल पत्रकार महासंघ कास्कीबाट २०७९ मा आर्थिक पत्रकारिता पुरस्कार ( नगद २०,०००) , शुभम सहकारी पत्रकारिता सम्मान (२०७६), रत्न ज्योति माविबाट बाल प्रतिभा सम्मान, लायन्स क्लव पोखरा सेती गण्डकी उत्कृष्ट पत्रकार सम्मान (२०७४) लगायतका पुरस्कार तथा सम्मान प्राप्त गरेका छन् ।

खेलकुद पत्रकारितामा लामो अनुभव र योगदानका आधारमा उनलाई यसपटकको सम्मानका लागि छनोट गरिएको मन्त्रालयले जारी गरेको सूचनामा उल्लेख गरिएको छ । मन्त्रालयले राष्ट्रिय खेलकुद पत्रकारिता पुरस्कार तथा सम्मान कार्यविधि, २०८१ को आधारमा मूल्याङ्कन गरी देश भरका पत्रकारहरूलाई पुरस्कारका लागि सिफारिस गरेको हो ।

पुरस्कार प्राप्त गर्ने पत्रकारहरूको नामावली
क्र.सं. पत्रकारको नाम प्रदेश कार्यक्षेत्र ठेगाना पुरस्कारको प्रकार
१ मुकुन्द घिमिरे, कोशी प्रदेश इलाम प्रोत्साहन पुरस्कार
२ सरदचन्द्र भट्टराई मधेश प्रदेश बारा प्रोत्साहन पुरस्कार
३ विक्रमकुमार बानिया बागमती प्रदेश मकवानपुर प्रोत्साहन पुरस्कार
४ दिननाथ बराल गण्डकी प्रदेश पोखरा–२२, कास्की प्रोत्साहन पुरस्कार
५ स्वस्तिक श्रेष्ठ लुम्बिनी प्रदेश बुटवल–११, रुपन्देही प्रोत्साहन पुरस्कार
६ दिनेश कुमार बुढा कर्णाली प्रदेश दैलेख प्रोत्साहन पुरस्कार
७ दिनेश बहादुर विष्ट सुदूरपश्चिम प्रदेश बैतडी प्रोत्साहन पुरस्कार
८ नमिता दाहाल व्यास १, तनहुँ समावेशी प्रोत्साहन पुरस्कार
९ रुपा गहतराज नेपालगन्ज १३, बाँके समावेशी प्रोत्साहन पुरस्कार (दलित तर्फ)
१० श्रीलोचन राजोपाध्याय काठमाडौं २४, केन्द्र÷ अनुभव प्राप्त खेलकुद पत्रकार सम्मान

मन्त्रालयले छिट्टै एक विशेष समारोह बीच पुरस्कृत पत्रकारहरूलाई सम्मान गर्ने जनाएको छ । यसैबिच गण्डकी प्रदेशका खेल पत्रकार केशव पाठक, विजय नेपाली, दिपक परियार, विजय नेपाल, ऋखिराम जिसी, सुमन गुरुङ, रोहितराज पराजुली लगायतका पुरस्कृत हुनु भएको छ ।