
दीननाथ बराल,
पोखरा ३१, जेठ,
पोखराको एक होटलको छतबाट खसेर एक महिलाको मृत्यु भएको छ । रुपन्देहीको बुटवल उपमहानगरपालिका–१०, रानीवन घर भएकी ३२ वर्षीया सरीता भण्डारी पोखरा महानगरपालिका–६ जरेवरमा रहेको होटल रुद्राक्षको पाचौं तलाबाट खसेर गम्भिर घाइते भई उपचारकै क्रममा उहाँको मृत्यु भएको प्रहरीले जनाएको छ ।
छतबाट खसेर गम्भिर घाइते हुनु भएको भण्डारीको गण्डकी मेचकलेजमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कास्कीका सूचना अधिकारी डीएसपी हरिबहादुर बस्नेतले बताउनु भयो ।
बुटवलबाट जेठ २९ गते दुई छोरा र श्रीमान सहित पोखरा घुम्न आउनु भएको भण्डारी के कारणले खस्न पुग्नु भयो यस बिषयमा अनुसन्धान भइ रहेको उहाँले जनाउनु भयो । हाल उहाँको श्रीमानलाई अनुसन्धानको लागि सोधपुछ गर्न लागिएको डिएसपी बस्नेतले जनाउनु भयो । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।





