नेपाल पत्रकार महासंघ कास्कीमा मल्टिमिडिया पत्रकारिता तालिम सुरु

-


     पोखरा क्लिक     
     जेठ २९ गते २०८२ मा प्रकाशित


पोखरा, २९ जेठ,

नेपाल पत्रकार महासंघ कास्कीको आयोजना र पोखरा महानगरपालिकाको सहयोगमा तीन दिने मल्टिमिडिया पत्रकारिता तालिम आजदेखि पोखरामा सुरु भएको छ। तालिमको उद्घाटन गण्डकी प्रदेश सभाका सभामुख कृष्णप्रसाद धितालले गरे।

उद्घाटन कार्यक्रममा बोल्दै सभामुख धितालले समाजलाई सचेत, सुशुचित र सक्रिय बनाउने मुख्य जिम्मेवारी पत्रकारिताको भएको उल्लेख गर्दै प्रविधिको प्रयोगमार्फत पत्रकारले राजनीतिक नेतृत्वलाई पनि सचेत गराउनुपर्ने आवश्यकता औंल्याए। उनले पत्रकारिताको माध्यमबाट सामाजिक रूपान्तरण सम्भव हुने बताए।

कार्यक्रममा नेपाल पत्रकार महासंघ कास्कीका पूर्व अध्यक्ष कृष्णप्रसाद बास्तोलाले संचार क्षेत्रमा हाल आर्थिक मन्दीको अवस्था रहेको उल्लेख गर्दै यस्ता तालिमहरूले पत्रकारिता क्षेत्रमा आकर्षण बढाउने विश्वास व्यक्त गरे। उनले समय र प्रविधिसँगै चल्नुपर्ने चुनौती स्वीकार गर्दै मल्टिमिडिया पत्रकारिता आवश्यक रहेको बताए।

तालिममा नेपाल खोजमूलक मल्टिमिडिया पत्रकारिता सञ्जालको प्राविधिक सहयोग रहेको छ भने सञ्जालका संस्थापक रजनीश भण्डारी प्रमुख प्रशिक्षकको रूपमा तालिम दिइरहेका छन्।

कार्यक्रममा महासंघ कास्कीका अध्यक्ष माधव बरालको अध्यक्षता रहेको थियो। उपाध्यक्ष माधव रेग्मीले स्वागत मन्तव्य दिएका थिए भने कार्यक्रमको सञ्चालन महासंघ कास्कीका सचिव भुपाल गुरुङले गरेका थिए।

तीन दिनसम्म सञ्चालन हुने तालिममा कास्की तथा आसपासका विभिन्न सञ्चारमाध्यममा आबद्ध ६० जना पत्रकार तथा सञ्चारकर्मीको सहभागिता रहेको छ। अध्यक्ष बरालले यो चालु आर्थिक वर्षको अन्तिम तालिम भएको जनाउँदै आगामी वर्षहरूमा फरक ढंगले तालिम आयोजना गरिने जानकारी गराए।



This will close in 20 seconds