
पोखरा, २८ जेठ,
नेपालमा कफी खेतीको व्यावसायिक विस्तारसँगै गण्डकी प्रदेशमा कफीको गुणस्तर सुधार र उत्पादन प्रवर्द्धन गर्न दुईदिने कार्यक्रम आयोजना हुने भएको छ। “कफी खेतीमा बायोडायनामिक पद्धति र कफी कपिङ कार्यक्रम” यही जेठ ३१ र असार १ गते पोखरामा आयोजना हुने गण्डकी प्रदेश कफी विकास बोर्डले जनाएको छ।
कार्यक्रममा जैविक तथा प्राकृतिक चक्रमा आधारित बायोडायनामिक खेती पद्धतिबारे जानकारी दिइनेछ। साथै, कपिङ अर्थात् विभिन्न विधिबाट उत्पादित कफीको स्वाद, सुगन्ध र बनावटको परीक्षण तथा मूल्याङ्कन गरिनेछ। कार्यक्रममा युवाको सहभागिता, गुणस्तरीय उत्पादन र अन्तर्राष्ट्रिय बजारमा प्रतिस्पर्धा गर्ने विषयमा अन्तरक्रिया समेत हुनेछ।
नेपालमा हाल ४२ जिल्लामा कफी खेती हुँदै आएको छ भने गण्डकी प्रदेशमा मात्र १,०८३ हेक्टरमा खेती हुँदै वार्षिक ९० मेट्रिक टन उत्पादन भइरहेको छ। यद्यपि उत्पादनले माग धान्न नसक्दा ४४३ मेट्रिक टन कफी आयात गर्नुपरेको छ। यस्तो अवस्थामा गुणस्तरीय उत्पादन बढाउँदै निर्यात प्रवर्द्धन गर्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको प्राविधिक नगेन्द्र सुवेदीले पोखराक्लिकलाई जानकारी दिनुभयो।
कार्यक्रमले नेपाली कफीलाई आन्तरिक तथा बाह्य बजारमा प्रतिस्पर्धी बनाउन मद्दत पुग्ने आयोजकको अपेक्षा छ। उक्त अवसरमा अष्ट्र्लियामा बस्दै आएका वविन गुरुङलाई सम्मान गरिएको थियो । उनले नेपाली कफिको प्रबद्र्धनमा स्वदेश तथा विदेशमा समेत महत्वपूर्ण भुमिका खेलेको वोर्डले जनाएको छ । वोर्डकी कार्यालय प्रमुख पवित्रा अधिकारीले कफीखेतीमा राम्रोसंग व्यबस्थापन सहितको रेखदेख गर्न नसक्दा यसमा विभिन्न प्रकारको रोगको प्रकोप हुने कफी कम उत्पादन हुने दाबी गर्नु भयो ।





