गुणस्तरिय प्राविधिक शिक्षाका लागि विभिन्न मोडेलमा मूल्यांकन, उद्यमशीलता तालिम र व्यवसायमा लगानीको प्रतिबद्धता

-


     पोखरा क्लिक     
     जेठ २८ गते २०८२ मा प्रकाशित


पोखरा, जेठ २८ –

प्राविधिक शिक्षाको गुणस्तर सुनिश्चित गर्नका लागि सीटीईभीटी गण्डकी प्रदेश कार्यालयले शिक्षालयहरूलाई विभिन्न मोडेलमा आधारित भएर मूल्यांकनको प्रक्रियामा सामेल गराउने भएको छ। पोखरामा आयोजित एक अभिमुखीकरण कार्यक्रममा गुणस्तर मापन, स्वमूल्याङ्कन, डकुमेन्टेशन, तथा सार्वजनिक सूचना प्रकाशनको आवश्यकता उल्लेख गर्दै गुणस्तरको आधारमा संस्थागत सुधार गर्ने योजना सार्वजनिक गरिएको हो।

सीटीईभीटी क्वालिटी प्रोजेक्टका निर्देशक प्रमोदभक्त आचार्यले विभिन्न मोडेल अन्तर्गत शुसासन तथा व्यवस्थापन, भौतिक पूर्वाधार, मानव स्रोत, शिक्षण सिकाइ, श्रम बजारसँगको समन्वय, विद्यार्थी सहयोग, र अनुसन्धान लगायतका पक्षको मूल्यांकन गरिने बताए। उनले हरेक कार्य संस्थागत र दस्तावेजीकरण ९मयअगmभलतबतष्यल० अनिवार्य रहेको पनि स्पष्ट गरे। कार्यक्रममा कालिका क्याम्पसका प्रमुख बिरेन्द्र गौतमले उद्यमशीलता सम्बन्धी तालिम मार्फत प्रशिक्षार्थीलाई १० लाख रुपैयाँसम्म व्यवसायमा लगानी गर्ने क्षमता र अवसर उपलब्ध गराइने जानकारी दिए।

शिक्षालयहरू मार्फत उत्पादन भएका जनशक्ति अझैसम्म रोजगारीदातासँग जोडिन नसकेको तथा त्यही कारण योग्य जनशक्ति बेरोजगार बन्न बाध्य भएकोप्रति चिन्ता व्यक्त गरियो। शुक्रराज माविका प्राचार्य नरनाथ बरालले कक्षा ९ र १० मा प्राविधिक धारमा भर्ना हुने विद्यार्थीहरू ११ र १२ मा घट्दै गइरहेको गुनासो गर्दै विद्यार्थी आकर्षणका लागि रोजगारको सुनिश्चितता अपरिहार्य रहेको बताए। कार्यक्रममा सीटीईभीटीले आवश्यकताअनुसार हस्पिटालिटी, इन्जिनियरिङ, स्टाफ नर्स लगायतका कार्यक्रमहरू सञ्चालन गर्नुपर्ने आवश्यकता औंल्याएको सिटिईभिटिले पोखराक्लिकलाई जनाएको छ ।

कार्यक्रमले गुणस्तरीय शिक्षा, श्रम बजारसँगको प्रभावकारी समन्वय, दक्ष जनशक्ति उत्पादन र पारदर्शी मूल्यांकन प्रणालीमार्फत प्राविधिक शिक्षालाई परिणाममुखी बनाउने दिशामा सकारात्मक संकेत दिएको छ।