कास्की प्रहरी परिसरमा नयाँ बहुउद्देश्यीय भवनको उद्घाटन, स्थानीय सहयोगमा सम्पन्न

-


     पोखरा क्लिक     
     जेठ २८ गते २०८२ मा प्रकाशित


पोखरा, जेठ २८,

जिल्ला प्रहरी कार्यालय कास्कीको परिसरमा नवनिर्मित दुईतले बहुउद्देश्यीय भवन उद्घाटन तथा हस्तान्तरण गरिएको छ। गण्डकी प्रदेश प्रहरी कार्यालयका प्रमुख डिआइजी दिनेशकुमार आचार्यले सोमबार आयोजित एक समारोहबीच उक्त भवनको उद्घाटन गरेका हुन्।

पोखरा महानगरपालिका तथा स्थानीय नागरिकहरूको आर्थिक सहयोगमा भवन निर्माण गरिएको हो। ३२ लाख ७४ हजार रुपैयाँको लागतमा सम्पन्न भवनको निर्माणका लागि पूर्वतयारीदेखि नै विशेष समिति गठन गरिएको थियो। समारोहमा भवन निर्माण समितिका अध्यक्ष शंकरप्रसाद बास्तोला, नेपाल प्रहरी प्रधान कार्यालयका डिआइजी ओमबहादुर राना, कास्कीका सहायक प्रमुख जिल्ला अधिकारी शिवप्रसाद लम्साल, श्रीकृष्ण दल गणका प्रमुख सेनानी राजेन्द्र पुडासैनी, विभिन्न संघसंस्था, पत्रकार, बुद्धिजीवी तथा स्थानीय समाजसेवीहरूको उपस्थिति रहेको थियो।

कार्यक्रममा डिआइजी आचार्यले समाजमा शान्ति सुरक्षा कायम राख्न प्रविधिको प्रयोग अपरिहार्य रहेको बताउँदै सीसी क्यामेरा लगायतका स्रोतसाधनको प्रभावकारी उपयोग गर्नुपर्नेमा जोड दिए। उनले प्रहरी र जनताबीचको सहकार्यलाई अझ मजबुत बनाउने कार्यमा यस्तो पूर्वाधारले भूमिका खेल्ने विश्वास व्यक्त गरे। प्रहरी उपरीक्षक श्यामबाबु ओलियाले स्वागत मन्तव्य दिएका थिए भने भवन निर्माण समितिका कोषाध्यक्ष केशवप्रसाद अधिकारीले आर्थिक प्रतिवेदन प्रस्तुत गरेका थिए।

कार्यक्रमलाई पत्रकार महासंघ गण्डकी प्रदेश अध्यक्ष रमेश पौडेल, वडा नम्बर १४ का अध्यक्ष बोधबहादुर कार्की लगायत विशिष्ट अतिथिहरूले समेत सम्बोधन गरेको जिल्ला प्रहरी कार्यालय कास्कीले पोखराक्लिकलाई जनाएको छ। कार्यक्रमको सञ्चालन जिल्ला ट्राफिक प्रहरी कार्यालय कास्कीकी प्रहरी निरीक्षक शोभा पाण्डेले गरेकी थिइन्।सामुदायिक सहभागितामा सम्पन्न यो भवनले अब प्रहरी प्रशासनलाई थप व्यवस्थित र प्रभावकारी सेवा प्रवाहमा मद्दत पुग्ने अपेक्षा गरिएको छ।