प्रेस सेन्टर कास्की र समाजबादी प्रेस संगठनको स्थानिय तह स्थलगत रिपोर्टिङ सम्बन्धि दुई दिने तालिम सम्पन्न

-


     पोखरा क्लिक     
     जेठ २७ गते २०८२ मा प्रकाशित


पोखरा, जेठ २७,

प्रेस सेन्टर कास्की र समाजवादी प्रेस संगठन कास्कीको संयुक्त आयोजनामा पोखरामा स्थानिय तह स्थलगत रिपोर्टिङ सम्बन्धि दुई दिने तालिम सम्पन्न भएको छ । पोखरा महानगरपालिकाको सहयोगमा सोमबारदेखि पोखरामा संचालन भएको तालिम मंगलबार सम्पन्न भएको हो ।

तालिममा नयाँ पत्रिका दैनिकका बरिष्ठ सम्वाददाता शिवहरी घिमिरेले स्थानिय तहका अधिकार, तिनले गर्ने काम, कन्टेन्ट राईटिङसँगै स्थलगत रिपोर्टिङबारे सहजीकरण गरेका थिए । त्यस्तै, फोटो पत्रकार राम गुरुङले फोटो पत्रकारिता सम्बन्धि सहजीकरण गरेको प्रेस सेन्टर कास्कीका अध्यक्ष दीननाथ बरालले जानकारी दिए । तालिममा उल्लेखनिय रुपमा अग्रज देखि अनुज पुस्ताका पत्रकारहरु सहभागि भएका थिए । प्रशिक्षार्थीहरुलाई पोखरा–२१, ३३ र ३० का विभिन्न ठाउँमा निर्माण भइरहेका सडकहरुको स्थलगत अवलोकन गराई त्यसको स्थलगत रिपोर्टिङ बारेमा जानकारी गराइएको थियो ।

तालिमको उद्घाटन पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले गरेका थिए । उनले पत्रकारले स्थलगत रिपोर्टिङ गरे मात्रै सत्यतथ्य बाहिर आउने अवस्था बन्ने बताए । अन्यथा कसैले भनेको वा सुनेको भरमा मात्रै समाचार लेख्दा तथ्य लुक्ने खतरा रहने उनको भनाई थियो । जति गरे पनि काम गरेन वा भएन मात्रै भन्ने विकृतिको विकास भएको भन्दै उनले भने,‘पोखरा महानगरले कति धेरै काम गरेको छ तर जहिलेपनि गरेन भन्ने मात्रै भाष्य तयार गरिएको छ । त्यसैले पत्रकार साथीहरुले फिल्डमै गएर महानगरले गरेको कामको सत्यतथ्य उजागर गरिदिनुहुन अनुरोध गर्दछु ।’ उनले पोखरामा एडिबी र विश्वबैंकसँग मिलेर २७ अर्ब भन्दा बढीको काम भइरहेको दाबी गरे ।

मेरै कार्यकालमा सबै काम सकिन्छ भन्नेपनि छैन,उनले भने,‘तर म निर्वाचित भएर आएदेखि नै गौरवको आयोजनाहरु तथा अन्य योजनाहरु अगाडि बढिरहेको छ । यसले विकासको फड्को मार्ने अपेक्षा गरेको छु ।’ पोखरामा हाल विभिन्न दातृ निकायको सहयोगमा ३३ अर्बको परियोजना जारी रहेको उनले दाबी गरे ।
कार्यक्रममा प्रेस स्वतन्त्रता सेनानी नवराज सुवेदीले स्थलगत रिपोर्टिङ पत्रकारिताको मुख्य मर्म भएको बताए । यसको अभ्यास बिना पत्रकारिता भुत्ते हुने उनको भनाई थियो । नेपाल पत्रकार महासंघ कास्कीका अध्यक्ष माधव बरालले स्थलगत रिपोर्टिङले मात्र पत्रकारितालाई जिवन्त बनाउने बताए । त्यसैले यसको अभ्यास जीवन्त पत्रकारिताका लागि अपरिहार्य भएको उनको भनाई थियो ।

समाजवादी प्रेस संगठन कास्कीका सचिव भीमबहादुर थापाले पत्रकारिताको सुदृढिकरणसँगै पत्रकारको सशक्तिकरणमा महानगरले सघाउनुपर्ने बताए । त्यसका लागि महानगरले रातो कितावमै उल्लेख गरेर बजेट राख्ने विश्वास व्यक्त गरे । तालिमको अन्तिम दिन मंगलबार प्रशिक्षार्थीहरुलाई प्रमाण पत्र वितरण गरिएको थियो । तालिममा सहभागि प्रशिक्षार्थीहरु सरला त्रिपाठी र असफल गौतमले तालिम स्थलगत रिपोर्टिङ अभ्यासका लागि फलदायी भएको बताए । तालिममा सिकेको कुराहरु व्यवहारमा उतार्ने प्रतिबद्धता जनाउँदै उनीहरुले यस्ता तालिमहरु आगामी दिनमा पनि आयोजना गर्न माग गर्नुभयो ।

पोखरा ३३ का वडा अध्यक्ष रामचन्द्र अधिकारी सहितको टिमसंग पत्रकारको टोलीले वडा कार्यालयमै पुगेर दोभिल्ला कोत्रे सडकको अवलोकन गरेको थियो । उक्त सडक हाल ४० प्रतिशत निर्मामा कार्य सम्पन्न भएको अध्यक्ष अधिकारीले बताउनु भयो । उक्त सडकमा नमुना सडक बनाउने गरी सडक दायाँ बायाँ फलफुलका बिरुवा रोप्न सुरु गरेको उहाँले जनाउनु भयो । प्रशिक्षक शिवहरी घिमिरे तालिममा सिकेको कुराहरु व्यवहारमा उतार्न प्रशिक्षार्थीहरुलाई आग्रह गरे । ‘अभ्यासले मात्रै पोख्त बनाउँछ’–उनले भने । प्रेस सेन्टर कास्कीका अध्यक्ष दीननाथ बरालको अध्यक्षतामा भएको कार्यक्रममा स्वागत उपाध्यक्ष तथा तालिम कार्यक्रम संयोजक पुष्प दाहाल र सञ्चालन सचिव सरोज अधिकारीले गरेका थिए ।