
पोखरा, जेठ २३ –
पोखरामा सुरु भएको ७औं राष्ट्रिय इन्डोर आर्चरी च्याम्पियनसिप २०८२ अन्तर्गत शुक्रबार पहिलो दिनको खेलहरू सम्पन्न भएका छन्। प्रतियोगितामा गण्डकी प्रदेशका टिमहरूले केही इभेन्टमा काश्य पदक जितेका छन्।
पोखरा रंगशालास्थित बहुउद्देश्यीय कभर्डहलमा सुरु भएको प्रतियोगितामा रिकर्व, कम्पाउण्ड र स्ट्यान्डर्ड तीन विधा अन्तर्गत पुरुष तथा महिला खेलाडीहरूबीच र्याङ्किङ राउण्ड र केही सेमिफाइनल खेलहरू सम्पन्न भएका हुन्।
रिकर्व मेन्स इन्डिभिजुअलतर्फ नेपाल पुलिस क्लबका तिलक पुन ३०० मध्ये २८५ अंकसहित शीर्ष स्थानमा रहे। गण्डकी ‘ए’ का अशिम शेरचन २७८ अंकसहित दोस्रो र गण्डकी ‘बी’ का मुकेश रोक्का मगर २७७ अंकसहित तेस्रो स्थानमा रहे।
रिकर्व मिक्स टिमतर्फ नेपाल पुलिस र नेपाल आर्मी फाइनलमा प्रवेश गरेका छन्। सेमिफाइनलमा पुलिसले गण्डकी बीलाई ५–१ र आर्मीले गण्डकी एलाई ६–२ ले हराएको थियो। काश्य पदकका लागि गण्डकी ‘ए’ ले गण्डकी ‘बी’ लाई पराजित गर्दै पदक जितेको हो।
रिकर्व मेन्स टिम इभेन्टमा गण्डकी ‘ए’ र आर्मीबीच फाइनल भिडन्त हुनेभएको छ। सेमिफाइनलमा गण्डकी ‘ए’ ले गण्डकी ‘बी’ लाई र आर्मीले पुलिसलाई समान ५–१ ले पराजित गरेका थिए। काश्य खेलमा गण्डकी ‘बी’ ले पुलिसलाई ६–४ ले हराएको थियो।
स्ट्यान्डर्ड मिक्स टिममा गण्डकी ‘ए’ र आर्मी फाइनल पुगेका छन् भने गण्डकी ‘बी’ लाई हराउँदै आर्मी अगाडि बढेको हो। तर काश्य पदक खेलमा गण्डकी ‘ए’ ले पुलिससँग ६–० को हार बेहोर्दै पदक गुमाएको छ।
स्ट्यान्डर्ड मेन्स टिममा गण्डकी ‘ए’ र पुलिस क्लब फाइनलमा पुगेका छन्। गण्डकीले गण्डकी ‘बी’ लाई र पुलिसले एपीएफलाई समान ६–० ले हराएका थिए। काश्य पदकका लागि गण्डकी ‘बी’ ले एपीएफलाई पनि ६–० ले पराजित गर्न सफल भयो।
प्रतियोगिताको उद्घाटन राष्ट्रिय खेलकुद परिषद् ९राखेप० का सदस्य सचिव टंकलाल घिसिङले गर्नुभएको थियो।
यो प्रतियोगितामा तीन विभागीय टोली ९नेपाल आर्मी, पुलिस, एपीएफ०, कोशी, बागमती र गण्डकी प्रदेशका दुई–दुई टिम गरी कुल ७ टिमका ७० खेलाडी सहभागी छन्। तीमध्ये २२ महिला र ४८ पुरुष खेलाडी छन्।
प्रतियोगितामा कुल १० इभेन्टमा प्रतिस्पर्धा भइरहेको छ, जसमा १० स्वर्ण, १० रजत र १० काश्य पदक वितरण गरिनेछ। प्रतियोगिता नेपाल आर्चरी संघको प्राविधिक सहयोगमा तथा गण्डकी प्रदेश खेलकुद परिषद र राष्ट्रिय खेलकुद परिषदको सहकार्यमा आयोजित हो।प्रतियोगिता २०७८ चैत २४ गते ९शनिबार० सम्म सञ्चालन हुनेछ।




