प्रचण्ड कप राष्ट्रिय महिला भलिवल प्रतियोगिताको तयारी पूरा,पोखरामा जेठ २७ देखि हुने प्रतियोगितामा गण्डकी प्रदेश सहित ६ टिम सहभागि हुने

-


     पोखरा क्लिक     
     जेठ २१ गते २०८२ मा प्रकाशित


दीननाथ बराल,

पोखरा २१, जेठ,

नेशनल स्पोट्र्स एकेडेमीको आयोजनामा यही जेठ २७ गते देखि पोखरा रंगशालामा हुने प्रचण्ड कप राष्ट्रिय महिला भलिवल प्रतियोगिताको तयारी पूरा भएको छ । पोखरा रंगशालाको कभर्डहलमा हुने उक्त प्रतियोगिताको तयारी पूरा भएको बुधबार पोखरामा आयोजित पत्रकार भेटघाट कार्यक्रममा जानकारी गराइएको हो ।

प्रतियोगितामा घरेलु टिम गण्डकी प्रदेश सहित ६ टिमको सहभागिता हुने भएको छ । प्रतियोगितामा तीन विभागिय त्रिभुवन आर्मी क्लब, नेपाल पुलिस क्लब र सशस्त्र प्रहरी बल, गण्डकी प्रदेश, न्यु डायमण्ड र एभरेष्ट भलिबल क्लब सहभागि हुने भएको एकेडेमीका अध्यक्ष दिपक कोइरालाले बताउनु भयो ।

प्रतियोगितामा विजेता टिमले ६ लाख रुपैयाँ, उपविजेताले ३ लाख, तेस्रो हुने टिमले १ लाख रुपैयाँको साथमा ट्रफी मेडल र प्रमाण पत्र प्राप्त गर्ने भएको छ । साथै उत्कृष्ट खेलाडीलाई ३० हजार र अन्य विधामा उत्कृष्ट प्रशिक्षक, सटर, ब्लकर, लिब्रो, सर्वर र स्पाइकर लगायत विभिन्न विधामा उत्कृष्ट हुनेलाईे जनही २० हजार रुपैयाँ पुरस्कार प्रदान गरिने भएको छ ।

नेपालको राष्ट्रिय खेल भलिबलको प्रवद्र्धन तथा विकासका लागि पोखरामा उक्त प्रतियोगिता यही जेठ ३१ गतेसम्म आयोजना हुने भएको अध्यक्ष कोइरालाले जनाउनु भयो । राष्ट्रिय खेलकुद परिषद् र नेपाल भलिबल संघको स्वीकृतमा वार्षिक कार्यक्रम अन्तर्गत हुन लागेको अध्यक्ष कोइरालाले जनाउनु भयो । ५ दिने चल्ने प्रतियोगिता सम्पन्न गर्न करिब ६० लाख रुपैयाँको खर्च हुने एकेडेमीले जनाएको छ । पुरस्कारमा मात्र ११ लाख ५० हजार खर्च हुने भएको छ । प्रतियोगिताका सम्पूर्ण खेलहरु फिभा र एनभिए को नियम अनुसार खेलाइने भएको छ भने राउण्ड रोविनको आधारमा खेल खेलाइने भएको छ ।

खेलाडीहरुलाई यातायात सहित आवासियको सुविधा एकेडेमीले उपलब्ध गराउने भएको उपाध्यक्ष शिव कोइराला(ज्वाला) ले बताउनु भयो । पोखरामा भलिवलको क्रेज भएकोले पहिलो पटक महिला भलिवल आयोजना गरिएको त्यस पश्चात पुरुष तर्फको समेत केही समय पछि गर्ने एकेडेमीको योजना रहेको उहाँले सुनाउनु भयो । २०७५ सालमा तत्कालिन प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारले भलिवल खेललाइ राष्ट्रिय खेलको रुपमा घोषणा गर्नु भएको उपाध्यक्ष कोइरालाले जनाउनु भयो । उक्त अवसरमा नेपाल भलिवल संघका केन्द्रिय उपाध्यक्ष याम बहादुर गुरुङले भलिवल खेलको विकासको लागि यस्ता प्रतियोगिता आवश्यक भएकोमा जोड दिनुभयो ।