
दीननाथ बराल,
पोखरा २०, जेठ,
गण्डकी प्रदेशको आर्थिक मामिला मन्त्रालयले प्रदेश खेलकुद परिषद्को खाता रोक्का गरेपछि राष्ट्रपति रनिङशील प्रतियोगिता प्रभावित भएको छ । परिषद्ले यही जेठ २२ गतेबाट सुरु गर्ने तयारी गरेको प्रदेशस्तरीय छनोट प्रतियोगिता र त्यसपछि हुने बन्द प्रशिक्षण समेत प्रभावित भएको प्रदेश खेलकुद परिषद्का सदस्य सचिव श्रीधर शर्माले बताउनु भयो ।
उक्त खाता रोकिएसंगै उक्तः प्रतियोगिता भने यही जेठ २६ र २७ गते गोरखामा हुने भएको उहाँले जनाउनु भयो । दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिता तयारीका लागि जिल्ला र प्रदेशस्तरीय विशेष प्रशिक्षण तथा अन्य कार्यक्रम सञ्चालनका लागि १ करोड ८० लाख २४ हजार रुपैयाँको बजेट रातो कितावमै उल्लेख भए पनि उक्त प्रतियोगिता अन्यौल भए पछि परिषदले सो रकमबाट राष्टपति कप छनौट प्रतियोगिताको तयारी गर्दा जिल्लाहरुलाई रकम दिन खोज्दा खाता रोक्का भएको जानकारी प्राप्त गरेको थियो ।
गतवर्ष संघीय सरकारको सशर्त अनुदान मार्फत राष्ट्रपति रनिङशीलका लागि ६५ लाख रुपैयाँ बजेट विनियोजन भएको थियो। तर, यसवर्ष संघीय सरकारबाट बजेट नपरेपछि प्रदेश सरकारले मात्र ३० लाख रुपैयाँ विनियोजन गरेको सदस्य सचिव शर्माले बताउनुभयो।
आर्थिक मामिला मन्त्रालयले सो बजेट गत चैत ६ गते रोक्का गरेको पत्र केही दिन अघि मात्र दिएको परिषदले जनाएको छ । उक्त बजेट रोक्का भएसंगै समस्या उत्पन्न भएको बताउदै सदस्य सचिव शर्माले आफुहरुलाई यसबाट मानसिक रुपमा समेत असर परेको गुनासो गर्नुृभयो ।
आर्थिक मामिला मन्त्रालयका सचिव राजेन्द्रदेव पाण्डेले दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गतका कार्यक्रमसँग सम्बन्धित बजेट नै रोक्का गरिएको जानकारी दिनुभयो। उहाँका अनुसार परिषद्ले बोर्ड बैठकको निर्णय अनुसार आवश्यकता अनुसार बजेट माग गरेपछि विनियोजन गर्ने व्यवस्था मिलाइनेछ ।
दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिता ३ पटक सरेर अझै कहिले हुने अन्यौलको अबस्था रहेको छ । परिषदले खेलाडी कल्याणकारी कोष स्थापना तथा संचालन सम्बन्धि कार्यविधिको लागि उक्त कोषमा २० लाख जम्मा गरे पनि आर्थिक मामिला मन्त्रालयले १४ महिना देखि सहमती नदिई रोकेको शर्माले गुनासो गर्नुभयो ।




