
साहित्यको राजधानी भन्न रुचाउनेहरूको शहरमा पोखरामा पोखरेलीका गजल गुञ्जेका छन् ।
नेपाली सुगम संगीतमा पृथक पहिचानसहित विश्व कीर्तिमान राख्न सफल संगीतकार सन्तोष श्रेष्ठको स्वर र संगीतमा कास्कीको भलामका स्रष्टा देवेन्द्र केसी देवुका गजल गुञ्जेका छन् ।
नेपाल पर्यटन बोर्डको सभाहलमा सम्पन्न देवेन्द्र केसी देवु गजल साँझमा श्रेष्ठले प्रत्यक्ष संगीतसहित देवुका गजल गायन गरे । उक्त गजल गायनको जाँचोपाँजो अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज गण्डकीले मिलाएको हो ।
कवि शिरोमणि लेखनाथ पौड्यालको गजलबाट कार्यक्रमको मङ्गलाचरण गरेका श्रेष्ठले देवुका सात गजल गायन गरे । उनलाई बाँसुरीमा संगीतकार टेकबहादुर राना र तबलामा मिलन गिरीले साथ दिए ।
अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज गण्डकीलाई संस्थापक उपाध्यक्ष रहेर अगाडि बढाएका हालका अध्यक्ष केसीको उक्त कार्यक्रमको संयोजन नेपाली शास्त्रीय गजल गायनको स्वर्ण दशक (२०८०–२०९०) का अभियन्ता घनेन्द्र ओझाले गरेका हुन् ।
कार्यक्रमका प्रमुख अतिथि वरिष्ठ साहित्यकार सरुभक्तले गजल गायनको यस प्रकृतिको निकै अर्थपूर्ण कार्यक्रम यस क्षेत्रमै पहिलो भएको बताए । उनले पछिल्लो समय देखिएको गजलमा शास्त्रीयताको खोजी र गायन अभ्यासको पूर्ण सफलताको कामनासमेत गरे ।

वरिष्ठ लोकगायिका हरिदेवी कोइरालाले देवुको साहित्यिक जीवनबारे चर्चा गर्दै लेखन र गायनयात्राको सफलताको शुभेच्छा व्यक्त गरिन् ।
गायक सन्तोष श्रेष्ठले पोखरामा यसप्रकारको कार्यक्रम गर्न पाउँदा गौरवबोध भएको बताए । उनले, गजल गायन अभियानले आधा दर्जन गायनका कार्यक्रम सम्पन्न गरिसकेको जानकारी पनि दिए ।
सिर्जनाको कथा प्रस्तुत गर्दै गजल साँझका नायक देवेन्द्र केसी देवुले साहित्यप्रतिको रुझान पहिलादेखि रहेको बताउँदै २०३० को दशकमा भलाम साहित्य सदन स्थापना गरेर साहित्यिक कार्यक्रम सञ्चालन गर्दा तत्कालीन सरकारले हतकडी लगाउन खोजेको रहस्य उद्घाटनसमेत गरे ।
केसीले सदनको आफ्नै भवन तथा पुस्तकालय निर्माणका सन्दर्भ उल्लेख गर्दै जागिरे जीवनका कारण साहित्य सेवामा निरन्तर लाग्न नपाएकोमा चिन्तासमेत व्यक्त गरे ।
कार्यक्रमका संयोजक ओझाले गजलकार र संगीतकारको परिचय दिँदै दुवै स्रष्टा अभियानका सारथि रहेको बताए । उनले कार्यक्रम गण्डकी क्षेत्रका लागि मात्र नभएर नेपाल र नेपाली गजल संगीतकै लागि ऐतिहासिक रहेको उल्लेख गरे ।
अनेसास नेपाल च्याप्टर सदस्य दुर्गाबहादुर शाह बाबाले गजल गायनसहितको महत्त्वपूर्ण कार्यक्रम पोखरामा सम्पन्न हुनु साहित्यसेवीका लागि खुसीको कुरा भएको बताए ।
कार्यक्रममा गण्डकी प्रज्ञा–प्रतिष्ठानका कुलपति सूर्य खड्का बिखर्चीले गायक, संगीतकार तथा विभिन्न संघसंस्थालाई कदरपत्र प्रदान गरेका थिए ।
अनेसास गण्डकीका महासचिव असफल गौतमले धार्नी सहयोग पु¥याएकाहरूबाट बिसौली सहयोग लिएर कार्यक्रमलाई अगाडि बढाइएको बताउँदै सम्पूर्णप्रति आभार व्यक्त गरे ।



