समाचार प्रभावः बढी भाडा लिने इन ड्राइभ चालक कारबाही परे

-


     पोखरा क्लिक     
     जेठ १९ गते २०८२ मा प्रकाशित


पोखरा,

सार्वजनिक यातायात व्यवसायीहरुको आन्दोलनको क्रममा पोखरामा संचालन भएका राइड शेयरिङ एप अन्र्तगत इन ड्राइभका केही चालकहरुलाई प्रहरीले कार्वाही गरेको छ । पोखरामा राइड शेयरिङमा चर्को मुल्य तिर्न यात्रु बाध्य, नियमन नहुँदा यात्रु ठगिदै भन्ने शिर्षकमा पोखराक्लिकलाई आइतबार बिहान समाचार प्रकाशन गरेसंगै आइतबार बेलुका यात्रुसंग बढी भाडा अशुल्ने इन ड्राइभ चालकहरुलाई प्रहरीले कार्वाही गरेको हो ।

पोखराक्लिकको समाचारसंगै केही संचार माध्यम एवं यात्रीहरुको गुनासोको आधारमा कास्की प्रहरीले पोखराका विभिन्न ठाउँबाट आठ वटा सवारी साधनसहित नियन्त्रणमा लिएर कार्वाही गरेकोे जिल्ला प्रहरी कार्यालय कास्कीका प्रवक्ता हरी बहादुर बस्नेतले पोखराक्लिकलाई बताउनु भयो । पक्राउमा परेका ८ जना चालकहरुलाई यातायात व्यवस्था ऐन २०४९ अनुसार कारबाही गरी छाडिएको प्रवक्ता बस्नेतले जनाउनु भयो ।

गण्डकी प्रदेश सरकारले इन ड्राइभ,टुटल पठाओ लगायतका राइड सेयरिङ तथा सेल्फ ड्राइभ सञ्चालन अनुमति दिने गरी नियमावली ल्याएको छ । त्यसको विरोधमा यातायात व्यवसायीहरुले आज देखि देश भरी यातायात सेवा ठप्प पारेका छन् । प्रदेश सरकारले ल्याएको राइड सेयरिङ तथा सेल्फ ड्राइभ सञ्चालन अनुमति दिने गरी ल्याएको नियमावली खारेजीको माग गर्दै आज देखि व्यवसायीहरुले ७ वटा प्रदेशमा सार्वजनिक यातायातका सेवा ठप्प पर्दा जनताले सास्ती भोग्नु परेको छ ।

प्रदेश सरकारले भने उक्त नियमावली कुनै पनि हालतमा फिर्ता नगर्ने चेतावनी दिदै वार्ता र छलफल तथा आवश्यक परे संसोधन गर्न सकिने उल्लेख गरेको छ । पोखरा सहित गण्डकी प्रदेशमा भने जेठ १६ गते देखि सार्वजनिक यातायात सेवा व्यवसायीहरुले घर ग्यारेज गर्दा यात्रु मर्कामा परेका छन् । यदी कसैले भनेको भन्दा बढी भाडा लिए सिधै प्रहरी १०० वा ट्राफिक १०३ मा खबर गर्न प्रहरीले आग्रह गरेको छ ।