
पोखरा, १३ जेठ,
शहिद पत्रकार कृष्णसेन इच्छुकको तेइसौं स्मृति दिवसको अवसरमा पोखरामा मंगलबार साँझ दीप प्रज्वलन गरी उहाँप्रति श्रद्धाञ्जली अर्पण गरिएको छ। प्रेस सेन्टर नेपाल गण्डकी प्रदेश, कास्की र पोखरा महानगर समितिको संयुक्त आयोजनामा पोखरास्थित शहिद पार्कमा कार्यक्रम सम्पन्न भएको हो।

कार्यक्रममा नेकपा माओवादी केन्द्रकी केन्द्रीय सदस्य तथा पोखरा महानगर इन्चार्ज तेजकुमारी पौडेलले इच्छुकको तस्बिरमा माल्यार्पण गर्दै दीप प्रज्वलन गरिन्। उनले इच्छुकले देखाएको बाटोमा हिँड्न पत्रकारहरुलाई आग्रह गर्दै समाजमा हुने अन्याय र अत्याचारविरुद्ध कलम चलाउन प्रेरित गरिन्। “पत्रकार इच्छुकको योगदान समाज परिवर्तनमा अमूल्य र अतुलनीय छ,“ उनले भनिन्।

प्रेस सेन्टर कास्कीका फ्याक्सन इन्चार्ज विश्वप्रकाश लामिछानेले पत्रकार इच्छुकको क्रान्तिकारी योगदान स्मरण गर्दै वर्तमान पत्रकारिताले पनि त्यही मार्ग अनुसरण गर्नुपर्ने बताए। प्रेस सेन्टरका केन्द्रीय सदस्य कृष्ण प्रसाद दवाडीले इच्छुकको जीवन, संघर्ष र बलिदानबारे चर्चा गर्दै, आजको पत्रकारिताले उहाँको बाटोलाई अनुकरण गर्नुपर्नेमा जोड दिए।
नेपाल पत्रकार महासंघ कास्कीका उपाध्यक्ष माधव रेग्मीले विचार र आस्थाका आधारमा राज्यले कसैको हत्या गर्नु निन्दनीय रहेको भन्दै पत्रकार इच्छुकको हत्यालाई गम्भीर अपराधको संज्ञा दिए। प्रेस सेन्टर गण्डकीका कोषाध्यक्ष श्रीभद्र पौडेलले इच्छुकले देखाएको बाटो अझै सान्दर्भिक रहेको बताउँदै, नेपाली पत्रकारले समाज रूपान्तरणमा अझ सक्रिय भूमिका खेल्नुपर्ने बताए। कार्यक्रम प्रेस सेन्टर नेपाल कास्की शाखाका अध्यक्ष दीननाथ बरालको अध्यक्षतामा सम्पन्न भयो। अध्यक्ष बरालले सहभागीप्रति धन्यवाद दिँदै पत्रकारिता अब अन्याय, अत्याचार, भ्रष्टाचारविरुद्ध र आर्थिक समृद्धि तथा सुशासनको पक्षमा कलम चलाउने दिशामा अग्रसर हुनुपर्नेमा जोड दिए।
कृष्णसेन इच्छुकः कलमको क्रान्तिकारी योद्धा
वि.सं. २०१३ मा जन्मिएका पत्रकार इच्छुकलाई वि.सं. २०५९ साल जेठ १३ गते नेपाली सेनाले गिरफ्तार गरी हत्या गरेको आरोप लाग्दै आएको छ। उनलाई राज्यको सत्ताको बलमा हत्या गरी पशुपतिनाथमा गुपचुपरुपमा दाहसंस्कार गरिएको स्रोतहरू बताउँछन्। पत्रकारिता मार्फत सामाजिक न्याय र परिवर्तनको पक्षमा कलम चलाउँदै आएका इच्छुक आज पनि नेपाली पत्रकारिताका लागि प्रेरणाको स्रोत बनेका छन्।



