
पोखरा, जेठ १३,
गणतन्त्र दिवसको पूर्वसन्ध्यामा पोखराको प्रमुख पर्यटकीय स्थल फेवातालको ड्यामसाइड क्षेत्रमा विशेष सरसफाइ गरिएको छ । पोखरा महानगरपालिकाको व्यवस्थापन तथा गणतन्त्र दिवस मूल समारोह समितिको आयोजनामा उक्त सरसफाइ कार्यक्रम मंगलबार गरिएको हो।

कार्यक्रममा पोखरा महानगरपालिकाका मेयर धनराज आचार्य, गण्डकी प्रदेश सरकारका मुख्यसचिव रघुराम विष्ट, कास्कीका प्रमुख जिल्ला अधिकारी भरतमणि पाण्डे, जनप्रतिनिधिहरू, नागरिक समाजका अगुवा राम बहादुर पौडेल तथा वातावरण संरक्षणमा सक्रिय व्यक्तित्वहरू, सशस्त्र प्रहरी, नगर प्रहरी तथा स्थानीयवासी सहित विभिन्न संघ संस्थाका प्रतिनिधिहरुकोे उल्लेखनीय सहभागिता रहेको महानगरले पोखराक्लिकलाई जनाएको छ ।
फेवाताल क्षेत्रको वातावरणीय संरक्षण गर्दै गणतन्त्र दिवसको सन्देशलाई व्यवहारमा उतार्नु उक्त कार्यक्रमको मुख्य उद्देश्य रहेको मेयर आचार्यले जनाउनु भयो । सहभागीहरूले ड्यामसाइड क्षेत्र वरपर जम्मा भएको प्लास्टिकजन्य फोहोर, बोटबिरुवा, फालीएका पत्ताहरू तथा बगेर आएका फोहोर पदार्थहरूको सफाइ गर्नु भएको थियो ।
मेयर आचार्यले भने, “फेवाताल पोखराको गौरव हो, यसलाई सफा राख्न महानगर मात्र होइन, सबै नागरिकको सरोकार र दायित्व हो। यस्तो सामूहिक प्रयासले जनचेतना जगाउँछ र हाम्रो प्राकृतिक धरोहरलाई बचाउने दिशामा थप टेवा पु¥याउँछ।” सरसफाइ कार्यक्रममा सहभागीहरूले ‘वातावरण बचाऔँ, फेवाताल जोगाऔँ’, ‘फोहोर नगर्नुहोस्, नगरप्रेमी बन्नुहोस्’ भन्ने नारा सहित जनचेतनामूलक प्लेकार्डहरू पनि प्रर्दशन गर्नु भएको थियो । कार्यक्रमले फेवातालको संरक्षण र सफाइ प्रति सामाजिक सहभागिता र उत्तरदायित्वको भावना थप बलियो बनाउने अपेक्षा गरिएको छ ।





