कोटिहोममा देवी प्रतिभाको प्रवचनले भक्तजन मन्त्रमुग्ध

-


     पोखरा क्लिक     
     जेठ १३ गते २०८२ मा प्रकाशित


पोखरा १७ स्थित श्री गण्डकी शतकुण्डीय गायत्री कोटिहोम विराट ज्ञान महायज्ञमा अन्तर्राष्ट्रिय कथा वाचिका देवी प्रतिभाको प्रवचनले भक्तजनलाई मन्त्रमुग्ध बनाएको छ। हिन्दी र नेपालीमा धाराप्रवाह कथा वाचन गर्ने अद्वितीय शैली भएकी देवी प्रतिभाले भक्तजनलाई आध्यात्मिक रसमा डुबाएकी छिन्। बिहान भक्तजनसँग भेटघाट गर्ने र दिउँसो प्रवचन दिने क्रमले कोटिहोममा उत्साह थपेको छ।

उनको ूथोड़ा प्यार से बोल न जी, पोखरावाला बोल दो नू भन्ने शैलीले विशेष आकर्षण पाएको छ। महायज्ञमा भागवत मञ्जरी राधिका दासी, प्रशान्त कृष्ण परांकुश, दिनबन्धु पोखरेल, चैतन्यकृष्ण महाराजलगायतले पनि कथा वाचन गरिरहेका छन्। महायज्ञको आयोजनासँगै राष्ट्रव्यापी खुला वक्तृत्वकला प्रतियोगिता सञ्चालनमा छ, जसमा ९० जना विद्यार्थी सहभागी छन्। “सनातन संस्कृति, गण्डकी कोटिहोम र हामी विद्यार्थी” शीर्षकको प्रतियोगितामा पूर्व मेचीदेखि पश्चिम महाकालीसम्मका विद्यार्थीको सहभागिता छ।

यस अवसरमा विभिन्न आमा समूह, समाजसेवी र व्यवसायीबाट लाखौँ रुपैयाँ सहयोग प्राप्त भएको छ। कोटिहोममा ४ सयभन्दा बढी ब्राह्मणले दैनिक हवनमार्फत आहुति दिइरहेका छन्। साथै, पितृ उद्धार, ग्रहशान्ति, विवाह, तुला दान, गोदान, हनुमान चालिसा, शक्ति पाठजस्ता विविध अनुष्ठान सञ्चालनमा छन्।

मानव सेवा फाउन्डेसनको आयोजनामा सञ्चालित महायज्ञबाट ललितपुरको मामाघर अनाथालय र भक्तपुरको ज्येष्ठ नागरिक आश्रम निर्माणका लागि सहयोग संकलन गरिँदैछ। कोटिहोममा भजन, झाँकी, नृत्यजस्ता सांस्कृतिक कार्यक्रमहरू पनि सञ्चालन भइरहेका छन्। महायज्ञ जेठ २६ गतेसम्म सञ्चालन हुनेछ।