अन्नपूर्ण प्रथम हिमाल आरोहणको ७५ औं बर्ष गाँठ हिरक जयन्तीको अवसरमा २ वटा म्याराथन दौड हुने

-


     पोखरा क्लिक     
     जेठ १२ गते २०८२ मा प्रकाशित


दीननाथ बराल,

पोखरा १२, जेठ,

अन्नपूर्ण प्रथम हिमाल आरोहणको ७५ औं बर्ष गाँठ हिरक जयन्तीको अवसरमा उत्तर (नर्थ) र दक्षिण (साउथ) दुई वटा क्षेत्रमा म्याराथन दौड प्रतियोगिता हुने भएको छ । अन्नपूर्ण हिमाल आरोहणको हिरक महोत्सवको अवसरमा अन्नपूर्ण नर्थ र साउथ दुबै तर्फ म्याराथन हुने भएको सोमबार पोखरामा आयोजित पत्रकार भेटघाट कार्यक्रममा जानकारी गराइएको हो ।,

अन्नपूर्ण साउथ वेस क्याम्पतर्फ विगत चार वर्ष देखि अन्नपूर्ण म्याराथन आयोजना हुँदै आए पनि यस वर्ष देखि उत्तरी अन्नपूर्ण क्षेत्रको बेस क्याम्पबाट पहिलो पटक म्याराथन आयोजना हुने तयारी गरिएको अन्नपूर्ण गाउँपालिका म्याग्दीका अध्यक्ष भरत बहादुर पुनले बताउनु भयो । दुबै म्याराथन एकै समयमा मौरिस हर्जोगले अन्नपूर्ण हिमाल आरोहणको दिन जुन २३ मा हुने भएको उहाँले जनाउनु भयो ।

अन्नपूर्ण साउथ बेस क्याम्पबाट हुने म्याराथन सन् २०१७ देखि नियमित हुँदै आएकोमा यस वर्ष १० विदेशी धावक सहित ८० भन्दा बढी सहभागी हुने भएको प्रतियोगिताका संयोजक ललित गुरुङले बताउनु भयो । ‘पर्यटनका लागि सबै मौसम’ भन्ने मूल नाराका साथ अन्नपूर्ण सेन्चुरी पर्यटन समिति घान्द्रुक, कास्कीको आयोजनामा उक्त प्रतियोगिता हुन लागेको हो।

उत्तरी भेगबाट हुने म्याराथनमा अन्नपूर्ण गाउँपालिकाका ८ वटा वडाका करिब ५० धावकहरुको सहभागिता हुने भएको हो । अन्नपूर्ण प्रथम हिमालको सफल आरोहणको ७५ औं हिरक जयन्तीको (१९५०–२०२५) विविध कार्यक्रम सहित यस बर्ष मौरिस हजोग र लुइस लाचेनलको स्मृतिमा विभिन्न कार्यक्रम हुने भएको नेपाल पर्यटन बोर्ड गण्डकी प्रदेशका कार्यालय प्रमुख मणीराज लामिछानेले बताउनु भयो । १२ देशका राजदुत एवं प्रतिनिधिहरुलाई पोखरा हुदै कास्कीको नारच्याङमा यही जेठ २० गते हुने कार्यक्रममा सहभागि गराइने भएको छ । उक्त टोलीलाई जेठ १९ गते पोखरामा भ्रमण गराए पश्चात नारच्याङ हुँदै पुनः हिलसम्म पुर्याउने भएको उहाँले जनाउनु भयो ।

सन् १९५० जुन ३ मा विश्वकै पहिलो आठ हजार मिटर भन्दा अग्लो हिमालको रूपमा प्रथम अन्नपूर्ण ९८,०९ मिटर को सफल आरोहण गर्नु भएको फ्रेन्सका मौरिस हरर्जोग र लुइस लाचेनल तथा नेपाली सहयोगी आङ थार्के शेर्पाको टोलीले बिना अक्सिजन ऐतिहासिक कठिनाइ बीच सम्पन्न गर्नु भएको थियो । यही गौरवपूर्ण दिनको सम्झनामा प्रत्येक वर्ष जुन ३ मा “अन्नपूर्ण आरोहण दिवस” मनाउने परम्परा रहेकोले यस बर्ष अन्नपूर्ण आधार शिविर नजिकै सो क्षेत्रमै पुगेर मनाउने तयारी गरिएको टान गण्डकीका अध्यक्ष कृष्ण प्रसाद आचार्यले बताउनु भयो ।

कार्यक्रमहरूमा नेपाली तथा अन्तर्राष्ट्रिय सहभागीहरू, विशेषगरी फ्रान्सेली प्रतिनिधिमण्डलको विशेष उपस्थिति हुने गरी भव्य तयारी गरिएको उहाँले जनाउनु भयो । मौरिस हरजोगका छोरा मथियस हर्जोग र नाति ईथान हर्जोगसहितको १४ सदस्यीय टोली नेपाल आइपुगेको अध्यक्ष आचार्यले जनाउनुभयो ।

नारच्याङ–अन्नपूर्ण उत्तर आधार शिविर पदयात्रा यही जेठ १७–१९) गतेसम्म हुने भएको छ भने १९५० मा आरोहण प्रारम्भ भएको मार्ग हुँदै नारच्याङदेखि अन्नपूर्ण बेस क्याम्पसम्मको पदयात्रा हुने भएको हो । फ्रान्सेली सांगीतिक प्रस्तुतिहरू समेत हुने भएको छ । पदयात्रा स्थलहरू र पोखरामा फ्रान्सेली सांगीतिक टोलीको सांस्कृतिक प्रस्तुति, अन्तरक्रिया र प्रदर्शनी कार्यक्रमहरू आयोजना गरिने भएको छ । मौरीस हरजोग र लुइस लाचेनलको शालिक अनावरण प्रधानमन्त्री केपी शर्मा ओलीले यही जेठ २० गर्नु हुने भएको छ ।

सन १९५० मा म्याग्दी जिल्लाको नारच्याङ हुँदै हुमखोला र भुकेट मेलाको गोठालो बाटो हुँदै प्रारम्भ गरिएको अन्नपूर्ण आरोहणको ऐतिहासिक मार्ग आज पनि मुख्य पदमार्गका रूपमा लोकप्रिय रहेको अध्यक्ष पुनले स्मरण गर्नुभयो । उक्त कार्यक्रम नेपाल पर्यटन बोर्ड, गण्डकी प्रदेश सरकार, स्थानीय पर्यटन व्यवसायी, सञ्चारकर्मी, पर्वतारोहण क्षेत्रका विज्ञ, र अन्तर्राष्ट्रिय प्रतिनिधिहरूको सहकार्यमा कार्यक्रम हुने भएको हो । अन्नपूर्ण प्रथम आरोहणमा प्रयोग गरिएका सामग्रीहरूलाई अन्तर्राष्ट्रिय पर्वतीय सङ्ग्रहालयमा हस्तान्तरण गरिने भएको छ भने आरोहण सम्बन्धी फोटो समेत प्रदर्शनी हुने भएको पोखराक्लिकलाई जनाएको छ ।