
दीननाथ बराल,
पोखरा १०, जेठ,
गण्डकी प्रदेशका सभामुख कृष्णप्रसाद धितालले गाउँका जनताले बादर नियन्त्रण गर्ने कानून खोजेको बताए । संसदीय पत्रकार मञ्च गण्डकीद्वारा आयोजित एकदिने संसदीय पत्रकार अभिमुखीकरण कार्यक्रममा शनिवार सम्बोधन गर्दै उहाँले अधिकांश गाउँका जनताले हाल बादरबाट पिडित भई बादर नियन्त्रण गर्ने कानून खोजेको बताएका हुन् ।

जनताको अपेक्षा विकास हुने तर संसदको धर्म नीति निर्माण गर्ने हुदाँ यस बिषयमा पत्रकारले आम जनतालाई बुझाउनु पर्ने उनले जनाए । कुनै पनि बिधेयकमाथि गम्भिर छलफल, अध्ययन विनै कानुन बन्ने गरेको उल्लेख गर्दै हालसम्म बनेका कानुनहरु कत्तिको प्रभावकारी र व्यवहारिक छन् भन्ने विश्लेषण गर्नुपर्ने समय आएको उनले जनाए ।
सामाजिक संजाल हावी हुँदा सही समाचार छुट्टाउन जनता नै समस्यामा पर्ने गरेको सभामुख धितालले जनाए ।
उपसभामुख विनाकुमारी थापाले संसदको प्रमुख कार्य नीति निर्माण भएको उल्लेख गर्दै जनताले अझै विकास खोज्ने गरेको बताइन् । काठमाडौंको आरआर क्याम्पसको पत्रकारिता विभागका प्रमुख, पत्रकार एवं लेखक डा.जगत नेपालले सहभागीहरुलाई नेपालमा संसदीय अभ्यास, अभिलेख र अनुसन्धान, संसर र यसको क्षेत्राधिकार विषयमा प्रस्तुतिकरण गरेका थिए ।
सार्वजनिक लेखा समितिका सभापति सुधिरकुमार शर्माले सामाजिक सञ्जालको बढ्दो प्रभावले पत्रकारिता माथि प्रश्न उठ्न थालेको बताए । राप्रपाकी प्रमुख सचेतक विन्दु पौडेलले वर्तमान संविधान स्वीकार गरेर संसदमा काम गरिरहेको उल्लेख गर्दै पत्रकारहरू सत्य र तथ्यमा आधारित रहेर मात्र समाचार लेख्न सुझाव दिइन् । संसदीय पत्रकार मञ्च गण्डकीका अध्यक्ष भरत कोइरालाको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा गण्डकी प्रदेश सभा सचिवालयका सचिव हरिराज पोखरेल, मञ्चका सदस्य बासु पौडेल लगायतले वोलेका थिए ।





