पोखरामा लाटोकोसेरो (उल्लु) सम्बन्धि सचेतना अभियान, १३ प्रकारका लाटोकोसेरो पोखरामा

-


     पोखरा क्लिक     
     जेठ १० गते २०८२ मा प्रकाशित


दीननाथ बराल,
पोखरा १०, जेठ,

पोखरामा लाटोकोसेरो (उल्लु) चरा सम्बन्धि सचेतना मुलक कार्यक्रम आयोजना गरिएको छ । प्रकृतिका साथीहरू नामक संस्थाबाट शनिबार पोखरामा लाटोकोसेरो चरा सम्बन्धि सचेतना मुलक कार्यक्रम आयोजना गरिएको हो ।

लाटोकोसेरोको एक परिवारले ४÷५ महिनाको अवधिमा करिब २ हजार मुसा खाने जसले वातावरणमा मुसाको नियन्त्रण गर्नमा लाटोकोसेरो चराको भूमिका महत्वपूर्ण हुने प्रकृतिका साथीहरूका निर्देशक लाटोकोसेरो विज्ञ राजु आचार्य(उल्लु सर) ले बताउनुभयो । नेपालमा २३ प्रजातिका लाटोकोसेरोहरू रहेका छन भने पोखरामा मात्र १३ प्रजातिको लाटोकोसेरो रहेको उहाँले दाबी गर्नु भयो ।

कास्की स्याङ्जा म्याग्दी र बाग्लुङमा गरी १ सय वटा लाटोकेशरो चराको गुण निर्माण गरिएको लाटोकोसेरोहरू विज्ञ आचार्यले बताउनु भएको छ । उक्त गुणहरूमा हालसम्म १० वटा गुणमा लाटोकोसेरो बसेका छन् भने २० वटा अन्य चराको गुण रहेको उहाँले जनाउनु भयो ।

पोखरा महानगरपालिका वडा नम्बर १२ र १३ का स्थानीय करिब ६० जनाका माझ उक्त सचेतना मुलक कार्यक्रममा शनिबार सम्पन्न भएको कार्यक्रम संयोजक सुमन सापकोटाले पोखराक्लिकलाई बताउनु भयो । पोखरा क्षेत्रबाट समेत चिन र भारतसम्म लाटोकोसेरोको चोरी पैठारी हुने गरेको निर्देशक आचार्यले जनाउनु भयो । सरकारले यसको संरक्षणको लागि आवश्यक बजेट विनियोजना गर्न उहाँले आग्रह गर्नुभयो । पोखरा महानगरपालकिा वडा नम्बर १३ का वडा अध्यक्ष किरण बराल सहितको टोलीले उक्त कार्यक्रममा निकै चासो पूर्ण ढंगले सहभागि हुनु भएको थियो ।

किरा, फट्यांग्रा र मुसा खाने लाटोकोसेरो किसानको साथीको रुपमा लिइने गरेको उल्लु सरले बताउनु भयो । अबुझ, ढिलो बुझ्ने वा अल्छी भएका व्यक्तिलाई गाली गर्दा घर गाँउमा प्राय उल्लु भन्ने गरिन्छ ।
मानिसलाई नेपालमा लाटोकोसेरोसँग तुलना गर्दै भनिन्छ, ‘कस्तो उल्लु जस्तो हो । नेपाली समाजमा भनिएजस्तो लाटोकोसेरो वा उल्लु अबुझ नहुने उहाँको तर्क थियो । बेलायतमा पढ्दा आचार्य सन् २००८ मा विश्व लाटोकोसेरो कोषको नेपाल प्रतिनिधि भएर नेपाल आए देखि हालसम्म निरन्तर उल्लु संरक्षणमा सक्रिय हुनु भएको छ ।