मिडिया काउन्सिल विधेयक अब छिट्टै पारित हुन्छः मन्त्री गुरुङ

-


     पोखरा क्लिक     
     जेठ १० गते २०८२ मा प्रकाशित


दीननाथ बराल,

पोखरा १०, जेठ

नेपाल सरकारका सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वीसुब्बा गुरुङले मिडिया काउन्सिल विधेयक अब छिट्टै पारित हुने बताउनु भएको छ । संचारिका समूह गण्डकी प्रदेशले शनिबार पोखरामा आयोजना गरेको पत्रकार महिलाको क्षमता अभिवृद्धि तथा पुरस्कार अर्पण समारोहमा वोल्दै मन्त्री गुरुङले मिडिया काउन्सिल विधेयक अब छिट्टै पारित हुने अबस्थामा पुगेको बताउनु भएको हो ।,

राष्ट्रिय सभाबाट प्रतिनिधि सभामा हाल पेश भएकोले अब उक्त विधेयक राष्ट्रिय सभाबाट पारित हुने अन्तिम अबस्थामा पुगेको उहाँले बताउनु भयो । मन्त्री गुरुङले मिडिया काउन्सिल विधेयक आए पछि मिडियाको महत्व झन बढ्ने बताउदै हाल मिडियामा पनि केही भएन भन्ने भाष्यखडा हुनुले नेपाली पत्रकारितालाई थप जोखिम बढेकोले अहिलेको अबस्थामा पत्रकारिता जिम्मेवार भई आफ्नो उत्तरदाहित्व बहन गर्न आग्रह गर्नुभयो ।

मिडियाको स्वच्छता, उत्तरदायित्व र पेशागत मर्यादा कायम गर्न सरकारले आवश्यक कानुनी तयारी गरिरहेको मन्त्री गुरुङको भनाई थियो । उहाँले यस्ता विधेयकहरू जनताको हित, लोकतन्त्रको मजबुती र सञ्चार क्षेत्रको मर्यादाका लागि आवश्यक भएको दाबी गर्दै यस्ता विधेयक लोकतन्त्रविरोधी नभइ लोकतन्त्रलाई थप सुदृढ बनाउने प्रयास भएको उहाँको भनाई छ ।

सामाजिक संजालमा हुने विकृति नियन्त्रण गर्न समेत उक्त विधेयकले सहयोग पुग्ने मन्त्री गुरुङले जनाउनु भयो । सरकारमाथि गरिने आलोचना र खण्डनहरूलाई सहज रूपमा स्वीकार गर्न सरकार तयार रहेको बताउदै उहाँले स्वस्थ आलोचना लोकतन्त्रको आधार भएको उल्लेख गर्दै विरोधका लागि मात्र विरोध गर्ने प्रवृत्ति गलत भएको जनाउनु भयो । उहाँले भन्नुभयो “ सरकारको कहाँ कमजोरी भयो, कहाँ सुधार गर्नुपर्छ भनेर खुलेर आलोचना गर्न मिडिया र नागरिकलाई आग्रह गर्छु हामी आलोचना र खण्डन स्वीकार्न तयार छौँ, कहाँ बिग्रियो भन्ने कुरा भन्नुहोस तर, विरोधको लागि विरोध गर्नु लोकतान्त्रिक संस्कार होइन् । ” सामाजिक सञ्जाल र साइबर अपराध नियन्त्रणमा सरकार सक्रिय रुपमा लागेको उहाँले बताउनु भयो ।

मन्त्री गुरुङले नेपालमा सञ्चालित सामाजिक सञ्जालहरूले नेपालको संविधान र कानून मान्नुपर्ने बताउनु भयो । उहाँले भन्नुभयो “सोसल नेटवर्क प्लेटफर्महरुले नेपालको कानून मान्नैपर्छ, म मान्छु यसमा सबैले मान्नु पर्छ ।” सामाजिक सञ्जालबाट फैलिरहेको गलत सूचना, अफवाह र डिजिटल अपराधका घटनाहरू बढ्दै गएको भन्दै उनले यस्ता प्लेटफर्महरूको प्रयोग, सञ्चालन र नियमन गर्न विधेयक संसदमा पेश भइसकेको जानकारी दिनुभयो । साइबर क्राइम नियन्त्रण मन्त्रालयको पहिलो प्राथमिकता रहेको उल्लेख गर्दै उहाँले चाँडो भन्दा चाँडो सो विधेयक पारित गरिने बताउनु भयो । ९८ प्रतिशत नेपाली जनताको पहुचमा बिद्युत पुगेको दाबी गर्दै उहाँले बाँकी २ प्रतिशत जनताको पहुचमा बिद्युत पुर्याउन सकारले बिद्युत सहित अन्य यसका वैकल्पिक उपायहरु अपनाउने बताउनु भयो । नेपालमा केही भएन भनेर नकरात्मक भाष्यखडा गर्नु भन्दा यहाँ केही सपना देखेर केही गर्न युवा बर्गलाई उहाँको सुझाव थियो ।

सूचना तथा संचार प्रविधि मन्त्रालयकी सचिव राधिका अर्यालले परम्परागत सञ्चार माध्यमले भन्दा ‘न्यू मिडिया’ले नवीन विषय सार्वजनिक गर्ने भएकाले व्यावसायिक रुपमा उनीहरुलाई टिक्न कठिन भएको बताउनु भयो । नयाँ प्रविधिको सञ्चार तथा सूचना प्रविधिको विकासले पत्रकारिता पेसा जटिल अबस्थामा पुगेको उहाँले बताउनु भयो ।

उक्त अवसरमा सञ्चारिका समूह गण्डकीले स्थापना गरेको ‘सञ्चारिका पत्रकारिता पुरस्कार–२०७९’ बाट राष्ट्रिय सूचना आयोगका आयुक्त दुर्गा भण्डारी र ‘सञ्चारिका पत्रकारिता पुरस्कार–२०८०’ बाट राससकी जमुना शर्मालाई नगद रु २० हजार प्रदान गरिएको सञ्चारिका समूह गण्डकीका अध्यक्ष कविता श्रेष्ठले पाखराक्लिकलाई बताउनु भयो । यसैगरी, १० हजार राशिको ‘गुरुङ ब्युटी एकेडेमी पत्रकारिता अवार्ड’ पत्रकार देवी जिसीलाई प्रदान गरिएको थियो । उक्त र्काक्रममा गण्डकी प्रदेशका महिला पत्रकारहरुको सहभागिता रहेको थियो ।