मध्य पहाडी लोकमार्ग अभियानको क्रममा जनताबाट प्राप्त सुझाव सहितको मागहरु सरकारले पूरा नगरे आन्दोलन गर्ने अध्यक्ष प्रचण्डको चेतावनी, (भिडियो सहित) गृह जिल्ला भव्य स्वागत

-


     पोखरा क्लिक     
     जेठ ९ गते २०८२ मा प्रकाशित


दीननाथ बराल,
पोखरा ९, जेठ,

नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मध्य पहाडी लोकमार्ग अभियानको क्रममा जनताले दिएका सुझाव सहितका मागहरु सरकारले पूरा नगरे आन्दोलन गर्ने चेतावनी दिनु भएको छ ।

प्रेस सेन्टर नेपाल गण्डकी प्रदेशले शुक्रबार बेलुका पोखराको सिल्भर प्लेट पार्टी प्यालेसमा आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रमम बोल्दै अध्यक्ष प्रचण्डले मध्य पहाडी लोकमार्ग अभियानको क्रममा जनताबाट प्राप्त विभिन्न सुझाव सहितको माग सरकारलाई पेश गर्ने यद्यपी माग पूरा नगरेको खण्डमा आन्दोलन गर्ने चेतावनी दिनु भएको हो । मध्य पहाडी लोकमार्गको पहिलो चरणको कार्यक्रम भोलि (शनिबार) पोखराको चिप्लेढुंगामा आयोजना हुने बिशाल जनसभा पछि आफुहरु काठमाण्डौमा फर्किए पछि आइतबार सरकारलाई यस बिषयमा गम्भिर हुन आग्रह समेत गर्ने अध्यक्ष प्रचण्डले उल्लेख गर्नुभयो । मध्य पहाडी लोकमार्गका जनताको मुख्य समस्या भनेको नेपालकै समस्या भएको दाबी गर्दै उहाँले यस बिषयमा सरकारले आफुहरुको माग आउँदो बजेटमा समेत सम्बोधन नगरे आन्दोलनको विकल्प नभएको जनाउनु भयो ।

प्रचण्डले मध्यपहाडी जनजागरण अभियानमा आम नागरिकको गुनासा र सुझाव ग्रहण गर्दै माओवादी केन्द्र फरक ढंगले अघि बढेको उल्लेख गर्दैे दलित, किसान, मजदुर, उत्पीडित वर्ग सबैको समस्या सम्बोधन गर्ने पार्टी माओवादी केन्द्र मात्रै रहेको दाबी गर्नुभयो । कस्तो आन्दोलन हुन्छ भन्ने पोखराक्लिकका प्रतिनिधिको जिज्ञासामा अध्यक्ष प्रचण्डले जनताका सबै समस्याहरु सरकार समक्ष पेश गर्ने यदि आउदो बजेटमा आफुहरुको माग सम्बोधन नभए सदन, सडक र जनताको मोर्चाबाट आन्दोलन गर्ने चेतावनी दिनु भएको हो ।

यसैबिच युवा संघ नेपालको राष्ट्रिय महाधिवेशनको उद्घाटन गर्न पोखरा आउनु भएको प्रधानमन्त्री केपी शर्मा ओलीले कार्यक्रममा सम्बोधन गर्ने क्रममा आफुलाई राजाबादीसंग मिल्न लागेको भनेर भन्नु गलत भएको बताउनु भयो । प्रधानमन्त्री ओलीले यदि प्रचण्ड राजाबादीसंग मिल्न लागेको भनेर भनेको भए एक पटक मानसिक अस्पतालमा उपचार गर्न प्रचण्डले सुझाव समेत दिनुभयो । गत चैत १५ काठमाण्डौंमा १ लाख जनता सडकका उतार्दै यथास्थिती र प्रतीगमनकारीका बिरुद्ध आन्दोलन गरेको अध्यक्ष प्रचण्डले स्मरण गर्दै राजावादीहरुलाई राम्रैसंग जवाफ दिएको बताउनु भयो । राजाबादीका थोरै मानिसहरु सडकमा भएपछि पन्चायती गुण्डागर्दी शैलिमा, लुटपाट, वितण्डा मच्चाउन लागेको उहाँको आरोप थियो । गणतन्त्रबादीहरु कति सम्मेमित र अनुसासित हुन्छन भन्ने समाजबादी मोर्चाको बिशाल सभाबाट आफुहरुले जनतालाई जवाफ दिएको अध्यक्ष प्रचण्डले जनाउनु भयो । राजाबादी बिरुद्ध सरकार गैर जिम्मेवार रुपमा प्रस्तुत भएसंगै आफुहरु बढी जिम्मेवार भएको उहाँको तर्क थियो ।

नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) पोखरा महानगर समितिले मध्यपहाडी पुष्पलाल लोकमार्ग जनजागरण अभियान” अन्तर्गत जेष्ठ १० गते शनिवार हुने जनसभामा पोखराबाट ५ हजार जना सहभागि गराउने दाबी गरेको छ । महानगरको तर्फबाट पार्टी अध्यक्ष एवं पूर्व प्रधानमन्त्री पुष्प कमल दाहाल प्रचण्ड सहितको टोलीलाई पोखरा २५ हेमजा मिलनचोकमा स्वागत सहित भेटघाट गरेको महानगर कमिटिका अध्यक्ष हरिनारायण गिरी (विज्ञान) ले बताउनु भयो । पोखराको चिप्लेढुंगामा शनिबार हुने बृहत जनसभा भव्य एवं सभ्य रुपमा सम्पन्न गर्न सम्पूर्ण तयारी पूरा भएको पार्टीका कास्की इन्चार्ज नेत्रनाथ अधिकारीले पोखराक्लिकलाई बताउनु भयो । यसैबिच कास्कीको प्रबेश गर्ने स्थान नयाँ पुलमा अध्यक्ष प्रचण्ड सहितका शिर्षस्थ नेताहरुलाई पन्चे बाजा सहित भव्य स्वागत गरिएको नेकपा माओवादी केन्द्र कास्कीका संयोजक विश्व प्रकाश लामिछानेले बताउनु भयो । गृह जिल्लामा नयाँपुल, नागडाँडा, हेमजा, हरिचोक लगायतको ठाँउ ठाँउमा भव्य स्वागत गरिएको उहाँले दाबी गर्नुभयो ।