राजनीति कहिल्यै नगरेको र राजनीतिक थाहै नपाएका व्यक्तिको हातमा राजनीति जाँदा मुलुकमा अस्थिरता आयोः प्रधानमन्त्री ओली

-


     पोखरा क्लिक     
     जेठ ९ गते २०८२ मा प्रकाशित


पोखरा,

प्रधानमन्त्री एवं नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले राजनीति कहिल्यै नगरेको र राजनीतिक थाहै नपाएका व्यक्तिको हातमा राजनीति जाँदा मुलुकमा अस्थिरता भएको बताउनु भयो । राष्ट्रिय युवा सङ्घ नेपालको १०औँ राष्ट्रिय महाधिवेशनको आज उद्घाटन गर्नुहुँदै प्रधानमन्त्री ओलीले राजनीति कहिल्यै नगरेको र राजनीतिक थाहै नपाएका व्यक्तिको हातमा राजनीति जाँदा स्थिरता र सुशासनका लागि एमाले र काँग्रेसको सरकार बनेको दाबी गर्नु भएको हो ।

अबको १४ महिनापछि आफूले राजीनामा गरेर काँग्रेसका सभापति शेरबहादुर देउवालाई हस्तान्तरण गरी आफूहरू सरकारमा रहेर निर्वाचन गराउने उहाँले जनाउनु भयो । आफूहरू भ्रष्टाचारविरुद्ध कसैको अनुहार नहेरी शून्य सहनशीलताका साथ काम गरिरहेको पनि प्रधानमन्त्री ओलीको भनाई थियो ।

जनताको हक अधिकार र मुलुकको स्वाधीनताको रक्षा गर्दै सबै प्रकारको प्रतिगमनका कुचेष्टा रोक्ने अभियानको अग्र भागमा एमाले पार्टी रहेको उहाँको तर्क थियो । जनताको कुण्डलीमा राजतन्त्र फर्कने कुनै भविष्यवाणी नभएकाले त्यस्तो गलत सपना नदेख्न उहाँले आग्रह गर्नुभयो ।

एमालेको पक्षमा बोल्दा झोले भनेर हतोत्साहित गर्नेहरुको भ्रम र अन्योलमा नपरी आफ्ना कर्तव्य पूरा गर्न प्रधानमन्त्री ओलीको आग्रह गर्नु भयो । कार्यक्रममा एमालेका महासचिव शङ्कर पोखरेल, उपमहासचिव एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङ, सचिव पद्मा अर्याल, जनसङ्गठन संयन्त्रका संयोजक भानुभक्त ढकाल, नेताहरू महेश बस्नेत, राजीव पहारी, निरुदेवी पाल, किरण पौडेल लगायतको उपस्थिती रहेको थियो।