
दीननाथ बराल,
पोखरा ७, जेठ,
माआबोदी केन्द्रका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड) लाई यही जेठ ९ गते कास्कीको नयाँपुलमा स्वागत सहित भेटघाट गरिने भएको छ । मध्यपहाडी पुष्पलाल लोकमार्ग जनजागरण अभियान अन्तर्गत कास्कीमा अध्यक्ष प्रचण्ड सहितको टोली प्रबेश गरेसंगै स्वागत सहित भेटघाट कार्यक्रम हुने तयारी गरिएको नेकपा माओवादी केन्द्र कास्कीका ईञ्चार्ज नेत्रनाथ अधिकारीले बताउनु भयो ।
अध्यक्ष प्रचण्ड नेतृत्वको उक्त टोली यही जेठ ८ गते बागलुङको ताराखोला आईपुग्ने र जेठ ९ गते विहान बागलुङ बजार तथा दिउँसो पर्वतको कुस्मामा जनसम्वाद हुने नेकपा माओवादी केन्द्र गण्डकी प्रदेश ईञ्चार्ज दिननाथ शर्माले बताउनु भयो ।
यही जेठ १० गते पोखराको चिप्लेढुंगामा नेकपा माओवादी केन्द्रको बृहत जनसभा हुने भएको छ । उक्त कार्यक्रममा अध्यक्ष प्रचण्ड सहित अन्य नेताहरुले सम्बोधन गर्नुहुने भएको नेकपा माओवादी केन्द्र कास्कीका संयोजक विश्वप्रकाश लामिछानेले बताउनु भयो ।
जनसभा अगाडि पोखराको पृथ्वीचोक र सिर्जनाचोक गरेर दुई ठाउँबाट ¥याली निकालिनेछ तयारी भएको उहाँले जनाउनु भयो । ¥याली सभागृहचोक, न्यूरोडहुँदै चिप्लेढुंगामा पुगेर जनसभामा परिणत हुने भएको छ । त्यसअघि सोहि दिन विहान प्रचण्डलाई मर्निङ वाल्क हिंडाउने तयारी भएको छ । जेठ १० गतेको जनसभालाई बृहद बनाईने संयोजक लामिछानेले दाबी गर्नुभयो । त्यसका लागि वाईसिएल, विद्यार्थी, महिला, मजदुरलगायतका जनबर्गीय र भातृसंगठनहरु लगि परेको संयोजक लामिछानेले जनाउनु भयो ।
जेठ २ गतेदेखि शुरु भएको मध्यपहाडी पुष्पलाल लोकमार्ग जनजागरण अभियानको टोली यहि जेठ ९ गते कास्की प्रवेश गर्ने भएको छ । बैतडीको पाटनबाट शुरु भएको मध्यपहाडी पुष्पलाल लोकमार्ग जनजागरण अभियान डडेलधुरा, दिपालय, अछाम, दैलेख, कर्णाली प्रदेशको रुकुम पश्चिमको चौरजहारी, मुसिकोट लगायतमा सम्पन्न भइसकेको छ ।



