
दीननाथ बराल,
पोखरा ६, जेठ,
यही जेठ ९ गते देखि पर्यटनको राजधानि पोखरामा सुरु हुने गाउँ पर्यटन मेलामा गण्डकी प्रदेशका २५ होमस्टे सहभागि हुने भएका छन् । नेपाल पर्यटन बोर्ड गण्डकी प्रदेश कार्यालयको आयोजनामा यही जेठ १० गतेसम्म संचालन हुने उक्त मेलामा प्रदेशका २५ होमस्टे एकै थलोमा भेला हुने भएको मंगलबार पोखराम आयोजित पत्रकार भेटघाट कार्यक्रममा जानकारी गराइएको हो ।
गण्डकी प्रदेशका ११ जिल्ला मध्य म्याग्दी र गोर्खा बाहेक अन्य ९ जिल्लाका २५ वटा होमस्टेहरुलाई पोखरासम्म ल्याउदै उक्त क्षेत्रका होमस्टे सहित त्यस क्षेत्रका पर्यटकीय गन्तव्यहरुको समेत प्रबद्र्धन गरिने भएको नेपाल पर्यटन बोर्ड गण्डकी प्रदेश कार्यालयका प्रमुख मणिराज लामिछानेले बताउनु भयो । उहाँले भन्नुभयो“पर्यटनको राजधानि पोखरा पर्यटनको ट्रान्जिट प्वाइट भएकोले यस क्षेत्रका होमस्टे सहित हालै संचालनमा आएका पर्यटकीय कुनै पनि गतिविधिलाई हामीले प्रचार प्रसार तथा प्रबद्र्धन गराउने उद्धेश्यले उक्त कार्यक्रम आयोजना गर्न लागेका हौं । ”
हालै संचालनमा आएका होमस्टे तर प्रचार प्रसारको अभावमा ओझेलमा परेका सम्भावना भएका होमस्टेहरुको प्रचार प्रसार सहित प्रबद्र्धन गर्नु बोर्डको मुख्य उद्धेश्य रहेको प्रमुख लामिछानेले जनाउनु भयो । गाउँमा रहेका पर्यटन व्यवसायीलाई बजारसम्म जोड्ने प्रयत्न गर्दै गाउँ पर्यटन प्रबद्र्धन तथा बजारीकरणको लागि एक प्लेटफार्म सृजना हुने उहाँले विश्वास व्यक्त गर्नुभयो ।
आवेदन आएका होमस्टेहरुबाट छनौट गरीएको उहाँले जनाउनु भयो । तेश्रो संस्करणको उक्त कार्यक्रम पोखराको लेकसाइड स्थित क्रिस्टल महल, अम्बोटमा हुने भएको भिटोफका सचिव लक्ष्मण पहारीले बताउनु भयो । यस अघि उक्त कार्यक्रम २०७३ र २०७६ मा भएको थियो । पोखरा पर्यटन परिषदका अध्यक्ष तारानाथ पहारीले उक्त होमस्टे मार्टले होमस्टेहरुको प्रबद्र्धन हुनुका साथै एक आपसमा होमस्टेहरु बिच सिक्ने अवसर प्रदान गर्ने बताउनु भयो । गाउँ पर्यटन प्रर्बद्धन मञ्च नेपाल (भिटोफ नेपाल) गण्डकी प्रदेशका अध्यक्ष शोभा सापकोटाले प्रदेश सरकारले धेरै होमस्टेहरुको प्रबद्र्धन गर्न अनुदान दिए पनि ५० प्रतिशत भन्दा बढी हाल नविकरण नभएको अबस्थामा रहेको बताउनु भयो ।
भिटोफ गण्डकीको सह—आयोजनामा गण्डकी प्रदेशको उद्योग तथा पर्यटन मन्त्रालय, पोखरा महानगरपालिका, पोखरा पर्यटन परिषद तथा होमस्टे (घरवास) महासंघ नेपाल (होफेन) गण्डकी प्रदेशको सहकार्यमा उक्त कार्यक्रम हुने भएको हो । नेपाल पर्यटन बोर्ड, गण्डकी प्रदेश कार्यालयले एक सूचना जारी गर्दै गण्डकी प्रदेश भित्रका सामुदायिक होमस्टे, फर्म, कम्पनी तथा गैरसरकारी संस्थाहरुलाई उक्त मार्टमा सहभागिताका लागि आवेदन दिन आव्हान गरेको थियो । मेलामा सहभागि हुने होमस्टेहरु आवेदन आएका होमस्टेहरुबाट छनौट गरीएको थियो ।







