
पोखरा, जेठ ३,
पोखरा–३ नदीपुरमा रहेको प्रतिभा माविमा शनिबार अभिभावक तथा शिक्षकहरुबीच भेटघाट कार्यक्रम गरिएको छ । नर्सरीदेखि कक्षा–१ सम्म अध्ययनरत विद्यार्थीहरुका अभिभावकहरुलाई शिक्षक्शिक्षिकाहरुसँग राखेर विद्यालयले अन्र्तक्रिया गरेको हो । कार्यक्रममा विद्यालयका प्राचार्य किरण सापकोटाले अभिभावकहरुले राखेको गुनासो तथा जिज्ञासा मेटाउँदै कतिपय सन्दर्भलाई प्रष्ट्याएका थिए ।

प्राचार्य सापकोटाले विद्यालयले शिक्षण सिकाईमा प्रविधिलाई जोड दिईएको बताए । बालबालिकालाई सैद्वान्तिक कुराहरुसँगै व्यवहारिक ज्ञान पनि दिनुपर्ने भन्दै त्यसका लागि प्रतिभाले भरमग्दूर प्रयास गरेको उनले बताए । उनले सबै बालबालिकाको सिक्ने क्षमता एकै किसिमको नहुने हुनाले आफ्नो बच्चालाई अरुसँग तुलना नगर्न अभिभावकहरुलाई आग्रहसमेत गरे । कार्यक्रममा सिपिएस÷सिपिआरएस को–अर्डिनेटर निर्मला सुवेदी श्रेष्ठले सिपिएस÷आरएस अध्यापन विधि बारे प्रष्ट पारिन् । विद्यालयले बालबालिकाको सर्वाङ्गिण विकास गर्ने उद्देश्यले सो विधिबाट अध्यापन गराउने उनले प्रष्ट्याईन् ।
भेटघाटको अवसर पारेर विद्यालयले अभिभावकबाट गरेका अपेक्षा र अभिभावकहरुले पनि विद्यालयबाट गरेका अपेक्षाहरुबारे भलाकुसारी गरिएको थियो । उपस्थित अभिभावक, शिक्षक तथा विद्यालय प्रशासनले आ–आफ्नो ठाउँबाट कर्तव्यबोध गरि बालबालिकाहरुलाई हरेक क्षेत्रमा अब्बल बनाउन लागिपर्ने प्रतिवद्धता जनाएका थिए ।कार्यक्रममा अभिभावकहरुविचमा क्विज तथा विभिन्न खेलहरु सञ्चालन गरिएको थियो भने बिजेता अभिभावकलाई पुरस्कृत समेत गरिएको थियो ।
शिक्षिकाहरुले नृत्यमार्फत स्वागत तथा गीतमार्फत विदाई गरेका थिए भने बालबालिकाहरुले पनि नृत्य प्रस्तुत गरेका थिए । बालबालिकालाई अभिभावक र विद्यालयमा कस्तो वातावरण चाहिन्छ भन्ने जानकारीमुलक नाटक पनि सो अवसरमा मञ्चन गरिएको थियो । कार्यक्रममा शिक्षिका मिना रानाभाटले कविता वाचन समेत गरेकी थिईन् । शिक्षिकाद्वय शैली ताम्राकार र रविना थापाले सञ्चालन गरेको कार्यक्रमको स्वागत विद्यालयका सह–प्राचार्य प्रदीप खनाल र फाईनान्स डाईरेक्टर विश्वगोपाल पराजुलीले धन्यवाद ज्ञापन गरेका थिए ।




