
दीननाथ बराल,
पोखरा ३०, वैशाख,
कास्कीको माछापुच्छ«े गाउँपालिका—२ भुर्जुङखोलामा संचालन हुँदै आएको गण्डकी ट्राउट फार्ममा बार्षिक रुपमा २५ टन रेन्बो ट्राउट माछा उत्पादन हुने गरेको छ । विगत १६ बर्ष अघि देखि संचालन हुदै आएको उक्त फार्ममा पछिल्लो बर्षदेखि बार्षिक रुपमा २५ टन रेन्बो जातको माछा उत्पादन हुने गरेको गण्डकी ट्राउट फार्मका संचालक मध्यका एक लक्षिन गुरुङले पोखराक्लिकलाई बताउनु भयो ।
साना ठुला गरी करिब ६० वटा पोखरी रहेको उक्त फार्ममा यस बर्ष पनि करिब २५ टन रेन्बो ट्राउट माछा उत्पादन हुने भएको उहाँले जनाउनु भयो । पोखराको महेन्द्रपुल देखि करिब १६ किलोमिटर उत्तर पश्चिममा पर्ने उक्त फार्ममा हाल पोखरा सहित कास्की एवं पोखरा भ्रमणमा आउने किसान देखि सेलीब्रिटीसम्म उहाँको फार्ममा पुग्ने र रेन्बो ट्राउट माछाको स्वाद लिने गर्नु भएको छ । यसै सम्बन्धि एक भिडियो सामाग्रि ।
आफ्नो उर्जाशिल समय विदेशमा वेतित गरेर स्वदेशमा केही गर्नु पर्छ भनेर जापानबाट स्वदेश फर्किनु भएको लक्षिन गुरुङ र अमृत गुरुङ (साँढु दाई÷भाई) २०६६ साल देखि हालसम्म निरन्तर यस पेशामा आबद्ध हुनुहुन्छ । गण्डकी प्रदेशमै पहिलो पटक व्यबसायीक रुपमा सुरु गर्नु भएको रेन्बो ट्राउट जातको माछा पालन हिजोआज उहाँकै प्रेरणाले गर्दा यस क्षेत्रमा करिब १६ वटा फार्महरु संचालन भएका छन् । करिब ८० रोपनी क्षेत्रफलमा फैलिएको उक्त फार्ममा हाल फुटवल मैदान, विभिन्न पिङ (लिङगे, चम्राले), सुइमिङ पुल, हरियाली पार्क, प्रयाप्त पार्किङ रहेको छ भने त्यहाँबाट हरियाली वन जंगल सहितको दृश्यावलोकन गर्न सकिन्छ ।
उक्त फार्ममा बार्षिक रुपमा ३ लाख रेन्बो ट्राउट माछाका भूरा उत्पादन हुने गरेको छ । फार्ममा उत्पादीत उक्त माछा मध्य ५० प्रतिशत अन्य फार्महरुले लैजाने गरेको संचालक अमृत गुरुङले बताउनु भयो । उक्त फार्ममा आगन्तुक पाहुनालाई स्वागत गर्न हाल १० वटा रुमहरु समेत संचालनमा रहेका छन् । एकै रातमा ३० जनालाई व्यबस्थापन गर्न सकिने उक्त फार्ममा रहेको रुमको शुल्क भने एक हजार मात्र रहेको छ ।
चिसो पानीमा हुने रेन्बो ट्राउट माछाको १३ प्रकारको स्वाद दिने गरेको उक्त फार्ममा संचालन भएको रेष्टुरेण्टमा खाना तथा खाजा खानेहरुमा सार्वजनिक बिदाको दिनमा भने एक सय जना भन्दा बढीको सहभागिता हुने गरेको छ । प्राकृतिक सौन्दर्यतामा रमाउन चहानेहरुको लागि एक दिनको राम्रो गन्तव्य नै बनेको छ गण्डकी ट्राउट फार्म । संचार माध्यम र ग्राहककै कारण आज आफुहरुलाई यस पेशामा आकर्षण गराएको अमृत गुरुङले सुनाउनु भयो ।
अब आफुहरुले यस फार्ममा रेन्बो ट्राउटको माछा सम्बन्धि कक्षा संचालन हुने गरी माछा पालन गर्न चाहने किसानहरुको लागि सहजीकरण गर्न खोजेको बताउनु भयो । मानव स्वास्थ्यको लागि समेत निकै लाभदायीक मानिने रेन्बो ट्राउट माछाको माग अत्याधिक भएकोेले आफुहरुले केही फार्महरुसंग खरिद गर्दै सुकुटी समेत बनाउर विदेशमा समेत पठाउने गरेको अमृत गुरुङले जनाउनु भयो । रेन्बो ट्राउटको माछा प्रतिकेजी १ हजार २ सय पर्छ भने सुकुटी बनाएको माछाको भने ६ हजार पर्छ । उमेरले ६५÷६४ बर्ष पुग्नु भएको दुई साँढु दाजु, भाईले आफ्नो व्यवसायलाई पुस्तान्तरण गर्न समेत सुरु गर्नु भएको छ । लक्षिनका एक छोरा सुवास गुरुङले अष्ट्रेलियामा ग्राजुयट गरेर स्वदेश फर्किदै आफ्ना बाबुले संचालन गरेको उक्त फार्ममा रेखदेख गर्दै आउनु भएको छ । अमृतकी छोरी भने हाल सि.ए.अध्ययनरत हुनुहुन्छ ।



