
पोखरा २७, वैशाख,
युवा नेता तथा नेपाल पत्रकार महासंघ कास्कीका पूर्व सदस्य देवेन्द्र बाँस्तोलाको निधन भएको छ । आज (शनिबार) लेखनाथ तालवेंसीमा मोटरसाइकल दुर्घटना परी उहाँको निधन भएको पारिवारीक श्रोतले जनाएको छ । पोखरा ११ फुलवारी निवासी बाँस्तोलाको शव हाल पोस्टमार्टमका लागि पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान(पश्चिमाञ्चल क्षेत्रीय अस्पताल ) मा राखिएको छ ।
उहाँ अघिल्लो स्थानीय तह निर्वाचनमा पोखरा–११ मा नेकपा एमालेबाट अध्यक्ष पदका उम्मेदवार हुनु भएको थियो । पोखरा न्यूरोडको पिपल्स बचत तथा ऋण सहकारी संस्थाका सचिव समेत रहनु भएको बाँस्तोला लामो समय मणिपाल शिक्षण अस्पतालमा समेत कार्य गर्नु भएको थियो । विभिन्न सामाजिक संघसंस्थामा पनि आबद्ध बाँस्तोलालकी आमा, श्रीमती र छोरा रहेका छन् ।






