प्रेस सेन्टर नेपाल गण्डकीको विकास पत्रकारिता तालिम पोखरामा सम्पन्न, डिजिटल पत्रकारिता आजको आवश्यकता भएको वक्ताको जोड

-


     पोखरा क्लिक     
     वैशाख २७ गते २०८२ मा प्रकाशित


पोखरा २७, वैशाख,

प्रेस सेन्टर नेपाल, गण्डकी प्रदेश समितिको आयोजना, प्रेस सेन्टर कास्कीको समन्वयमा पोखरामा दुई दिने ‘विकास पत्रकारिता तालिम’ सम्पन्न भएको छ । शनिबार पोखरामा सम्पन्न भएको उक्त तालिममा वोल्ने वक्ताहरुले डिजिटल पत्रकारिता आजको आवश्यकता भएकोमा जोड दिनुभयो ।

प्रेस सेन्टर नेपालका केन्द्रीय अध्यक्ष कमल गिरिले नेपाली पत्रकारिताको अबस्थाको बारेमा जानकारी गराउदै अबको पत्रकारिता समय सापेक्ष डिजिटलाइजेसन हुनु पर्नेमा जोड दिनुभयो । परम्परागत पत्रकारीता अब टिक्न नसक्ने उहाँको भनाई थियो ।
केन्द्रीय अध्यक्ष गिरिले परम्परागत मिडिया रेडियो, टिभी र पत्रपत्रिका धरापमा परेको र डिजिटल प्लेटफर्ममा पत्रकारिताको प्रवृत्ति बढ्दै गएको बताउनु भयो । प्रेस सेन्टर नेपालले तथ्यपरक, व्यवसायिक र मिशन केन्द्रित पत्रकारिता गर्नुपर्नेमा उहाँको जोड थियो ।

गण्डकी प्रदेशको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयकी उपसचिव पार्वती लामिछानेले प्रदेशले गरेका राम्रा तथा नराम्रा कामको उचित ढंगले मुल्याङकन गर्न आग्रह गर्नुभयो । सरकारका राम्रा कामको प्रचार र गलत कामको खबरदारी गर्न उहाँले आग्रह गर्नुभयो । प्रशिक्षक बिनोद शर्माले पत्रकारितालाई राइट होल्डर्सबाट डिउटी बेरियर्ससम्म पु¥याउन पत्रकारहरूले सक्रिय भूमिका खेल्नुपर्नेमा जोड दिनुभयो । उहाँले विकास पत्रकारिताको सम्मानजन्य भूमिका स्थापित गर्नका लागि सूचना श्रृंखलालाई प्रभावकारी बनाउनु पर्नेमा जोड दिनुभयो ।

दोश्रो दिनमा प्रेस सेन्टर नेपालका पुर्व केन्द्रिय सदस्य चिरन्जीवी अधिकारीले आइटी सम्बन्धी सहजीकरण गर्नु भएको थियो । उक्त तालिममा विकास पत्रकारिता सहित आर्थिक, जनपत्रकारिता तथा सञ्चार माध्यमको सामाजिक उत्तरदायित्वका विषयमा प्रशिक्षण दिइएको थियो । गण्डकी प्रदेश सरकार, मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको सहयोगमा सम्पन्न तालिममा पहिलो दिन अग्रज पत्रकार बिनोद शर्मा र पत्रकार दिपक परियारले प्रशिक्षण दिनु भएको थियो । सहभागिहरुलाई अध्यक्ष गिरीले प्रमाणपत्र वितरण गर्नु भएको सेन्टर गण्डकीका महासचिव गुणाखर रोकाले बताउनु भयो । सेन्टर गण्डकीका अध्यक्ष अर्जुन काफ्लेको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा सेन्टरका तनहुँ अध्यक्ष अस्मिता खनाल, कास्कीका अध्यक्ष दीननाथ बराल लगायतले बोल्नु भएको थियो ।