कास्कीको मादीमा बस संचालन भएसंगै शहरका बिद्यार्थी गाउँ फर्किदै

-


     पोखरा क्लिक     
     वैशाख २५ गते २०८२ मा प्रकाशित


दीननाथ बराल,

पोखरा २४, वैशाख,

कास्कीको मादी गाउँपालिकाका सामुदायिक बिद्यालयमा बस संचालन भएसंगै शहरका बिद्यार्थी गाउँ फर्किन थालेका छन् । मादी गाउँपालिका ४ मा रहेको धुर्व मावि र मादी गाउँपालिका ७ मा रहेको धनुवास कालिका माविले स्कुल बस संचालन गरेसंगै शहर पुगेका बिद्यार्थी गाउँ फर्किन थालेको मादी गाउँपालिकाका अध्यक्ष देविजंग गुरुङले बताउनु भयो ।

गाउँका बिद्यार्थी शहर झन थाले पछि सामुदायिक बिद्यालयमा बिद्यार्थी सङख्या बढाउने उद्धेश्यले गाउँपालिकाले ७५ प्रतिशत अनुदानमा बस सेवामा लगानी गरेको उहाँले जनाउनु भयो । मादी गाउँपालिकासंगै जोडिएको पोखरा क्षेत्रमा झरेका बिद्यार्थी पुनः गाउँ फर्किन थालेको उहाँले दाबी गर्नुभयो । पोखरा १३, पोखरा १२ मा आएका केही बिद्यार्थीहरु पुनः गाउँकै बिद्यालयमा फर्किन थालेको अध्यक्ष गुरुङले पोखराक्लिकलाई उल्लेख गर्नुभयो ।

मादीको तारकाङमा रहेको धुर्व माविमा गत बर्ष १ सय ८२ बिद्यार्थीहरु रहेकोमा यस बर्ष भने नयाँ ३० जना बिद्यार्थी थपिएको मादी गाउँपालिका ४ का वडा अध्यक्ष शिवप्रसाद सापकोटाले बताउनु भयो । त्यसै गरी मादी गाउँपालिका छाचोकमा रहेको धनुवास कालिका माविमा गत बर्ष ६२ जना बिद्यार्थीहरु रहेकोमा यस बर्ष बस सेवा संचालन गर्ने भएसंगै ३१ जना बिद्यार्थी बढेको मादी गाउँपालिका ७ का वडा अध्यक्ष दुर्गा बहादुर गुरुङले बताउनु भयो । धुर्व माविमा नर्सरी देखि कक्षा १२ सम्म संचालन भएको छ भने धनुवास कालिका माविमा भने कक्षा ६ देखि १० सम्म संचालन भएको छ ।

यसैबिच बुधबार धनुवास कालिका माविलाई टाटा कम्पनीको ३६ सिटे बस बिद्यालयलाई हस्तान्तरण गरिएको छ । मादी गाउँपालिकाका अध्यक्ष देविजंग गुरुङ, वडा अध्यक्षहरु सहितको टोलीले बिद्यालय व्याबस्थापन समितिका अध्यक्ष टेक बहादु गुरुङ, अर्थ संकलन समितिका अध्यक्ष क्या.इन्द्र बहादुर गुरुङ, प्रध्यानाध्यापक गोपाल सापकोटालाई हस्तान्तरण गर्नु भएको हो । भन्सार छुट सहित २९ लाख ३६ हजार ८ सय ६५ रुपैया मुल्यको बस बिद्यालयले संचालन गर्न लागेको हो । उक्त बस खरिदको २५ प्रतिशत रकम बिद्यालयमा विभिन्न दाताबाट संकलन गरिएको बिद्यालयले जनाएको छ ।