कर्मचारी कुट्ने वडा अध्यक्षलाई कार्वाहीको माग गर्दै पोखरा महानगरपालिकाको सेवा ठप्प

-


     पोखरा क्लिक     
     वैशाख २४ गते २०८२ मा प्रकाशित


दीननाथ बराल,
पोखरा २४, वैशाख,

पोखरा महानगरपालिका कार्यालयको सेवा ठप्प भएको छ । पोखरा महानगरपालिका वडा नं. ४ का वडा अध्यक्ष देवकृष्ण पराजुलीले मंगलबार प्रशासन महाशाखामा कार्यरत कर्मचारी ईश्वरी प्रसाद पोखरेल माथि हातपात गरेको भन्दै दोषी उपर कार्वाही प्रकृया अघि नबढेसम्म कर्मचारीहरुले कलम बन्द गरी (पेन डाउन) काम काज ठप्प पार्र्दै आन्दोलनमा उत्र्रिएसंगै महानगरको सेवा ठप्प भएको हो ।

महानगरका ४ वटा कर्मचारी संगठनहरुले संयुक्त रुपमा सूचना जारी गर्दै घटनाको घोर भत्र्सना गरी दोषी उपर कार्वाहीको माग गरेका छन् । वार्तामा समेत नवोलाएको अबस्थामा संगठनहरुले महानगरपालिका कार्यालय, महाशाखाहरु र वडा कार्यालयहरुमा समेत कलम बन्दगरी (पेन डाउन) कामकाज ठप्प गरिएको सूचनामा उल्लेख छ ।

प्रमुख प्रशासकीय अधिकृतको कार्यकक्षमा हातपात गरेको निन्दनीय घटनाका दोषी उपर २४ घण्टा भित्र कानुन बमोजिम कारवाही गर्न माग राख्दा महानगरले व्यवास्था गरेकोले आफुहरु आन्दोलनमा उत्र्रिन बाध्य भएको कर्मचारी संगठनले पोखराक्लिकलाई जनाएका छन् ।

स्थानीय तह कर्माचरी यूनियनका अमिर भण्डारी, स्थानीय तह कर्मचारी संघका रेशम जि.सी, नेपाल राष्ट्रिय कर्मचारी संगठनका नेत्र प्रसाद तिमिल्सना र एकिकृत सरकारी कर्मचारी संगठन नेपालका डिल्लीराम गिरीले हस्ताक्षर गरी सूचना जारी गर्दै महानगरको सेवा प्रभावित पार्न बाध्य भएको उल्लेख गर्नु भएको छ । यस बाट नगरबासी सेवाग्राहीहरुमा पर्न गएको असुविधा प्रति पोखरा महानगरपालिका कर्मचारी परिवार क्षमाप्रार्थी रहेको समेत सूचनामा जनाइएको छ ।

कर्मचारी आन्दोलनको कारण महानगरको सेवा विहानै देखि प्रभावित भएको पोखरा महानगरपालिकाका प्रवक्ता मोतीलाल तिम्सिनाले बताए ।विवादको बिषयमा भोलि विहान पोखराका मेयर धनराज आचार्यले दुबै पक्षलाई वार्तामा वोलाएको उनले जनाए । वडाध्यक्ष पराजुलीले भने आफु माथि आई लागे पछि प्रतिकारमा उत्र्रिएको बताए ।

पोखरा महानगरपालिका वडा नम्बर–४ का वडाध्यक्ष देवकृष्ण पराजुलीले कर्मचारी र व्यवसायीलाई कुटेको आरोपमा मंगलबार जिल्ला प्रहरी कार्यालय (जिप्रका) कास्की घेराउ भएको थियो । अध्यक्ष पराजुलीले कर्मचारी पोखरेल र सर्वश्वर मार्गमा सुवेदी कस्मेटिक पसल सञ्चालन गर्दै आएका व्यवसायी लेखनाथ सुवेदीलाई हातपात तथा दुव्यवहार गरेको आरोपमा कार्वाहीको माग गर्दै जिप्रका घेराउ भएको थियो ।