
दीननाथ बराल,
पोखरा १९, वैशाख,
नेकपा माओबादी केन्द्रका महासचिव एवं पूर्व मन्त्री देव गुरुङले प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकार असफल भएको बताउनु भएको छ । प्रेस सेन्टर नेपाल कास्की शाखाले आज (शुक्रबार) पोखराको शिल्भर प्लेट पार्टी प्यालेसमा आयोजना गरिएको पत्रकार भेटघाट कार्यक्रममा बोल्दै महासचिव गुरुङले सामाजिक, आर्थिक सहित नैतिक हिसावले अहिलेको सरकार असफल भएको दाबी गर्नु भएको हो ।
अहिलेको सरकार भ्रष्टचार र शुसासनको उल्टोबाटो हिड्दा राजाबादी सलवलाएको महासचिव गुरुङले जनाउनु भयो । दरवारी शक्तिले टाउको उठाउन लागेको बताउनु उहाँले सरकारले उचित ढंगले काम नगरेका कारण देशमा अन्य शक्तिले समेत देशमा द्धन्द्ध निम्त्याउन खोजेको जनाउनु भयो ।
संविधान निर्माणको १० बर्षमा समीक्षा गर्दै बिष्तृत शान्ति सम्झौता पक्ष र अन्य दलसंगको सहकार्य गर्दै सरकारले अघि बढाउनु पर्ने महासचिव गुरुङको सुझाव थियो । हरेक ठाउँमा राजनीतिकरण गर्नुले प्रश्न उठ्न लागेको उहाँको तर्क थियो । सहमती र सहकार्य गर्नु पर्नेमा निषेध गर्नुले सिस्टम र राष्ट्रियता माथि प्रश्न उठेको महासचिव गुरुङले जनाउनु भयो । सरकारले सहजीकरण गर्नुपर्नेमा रवैया देखाउने गरेकोले धेरै क्षेत्र सरकार प्रति रुष्ट बनेको उहाँको भनाइ थियो ।
पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणको क्रममा भएको आर्थिक अनियमितताको बिषयमा न्यायिक छानविन गर्न उहाँले माग गर्नु भएको छ । विमानस्थल निर्माणको क्रममा ठुलो रकम आर्थिक हिनामिना भएको संसदीय छानविन समितिले दिएको रिपोटको आधारमा अब न्यायिक छानविन गरी दोषी उपर कार्वाही हुनु पर्ने उहाँको माग छ ।
राष्ट्रिय गौरवको योजना जहाँ सरकारले ऋणमा गरेको लगानीमा भ्रष्टचार हुनु निकै दुःख लाग्ने बिषय भएको बताउदै उहाँले पोखरा विमानस्थल निर्माणको क्रममा न्यायिक छानविन गरेर दोषी उपर आवश्यक कार्वाही गर्न समेत माग गर्नुभयो । पोखरा विमानस्थल २२ अर्ब रुपैयाँमा ठेक्का सम्झौता भएको थियो जहाँ करिब १० अर्ब भन्दा बढी भष्टचार भएको संसदीय छानविन समितिले दाबी गरेको छ ।
महासचिव गुरुङले संघिय लोकतन्त्रीक गणतन्त्रको रक्षाको निम्ति र शुसासन दिन आवश्यक भएको बताउदै यस अभियानमा सबैको साथ आवश्यक भएको बताउनु भयो । आफ्नो पार्टीले सदन चल्दा सदनबाट र अन्य समयमा सडकबाट सरकारलाई सकरात्मक ढंगले खबरदारी गर्दै अघि बढेको जिकिर गर्नुभयो ।
माओबादी केन्द्रको तराई पहाडको अभियानले सिमावर्ती क्षेत्रमा रहेका देखि सहिद परिवार, जनआन्दोलनका घाईते परिवार सहित करिब १ करोड आम जनतासंग समन्वय सहकार्य गर्दै घर दैलोसम्म पुगेको उहाँको भनाई थियो । प्रेस सेन्टर नेपाल कास्की शाखाका अध्यक्ष दीननाथ बरालको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको थियो ।






