आगलागी नियन्त्रण सम्बन्धी अभिमुखीकरण

-


     पोखरा क्लिक     
     वैशाख १९ गते २०८२ मा प्रकाशित


पोखरा, १९ बैशाख,

सामुदायिक सेवा केन्द्र एवं सामुदायिक प्रहरी सेवा बैदामको आयोजना, वडा नं. ६ कार्यालयको सहकार्य तथा जिल्ला प्रहरी कास्कीको समन्वयमा आगलागी नियन्त्रण सम्बन्धी अभिमुखीकरण कार्यक्रम सम्पन्न भयो ।
कार्यक्रममा प्रमुख अतिथि जिल्ला प्रहरी कार्यालय कास्कीका प्रमुख प्रहरी उपरीक्षक श्यामबाबु वलियाले विपद् जुनसुकै बेला पनि आउनसक्ने हुँदा यस्ता कार्यक्रमले विपद् पर्दा नियन्त्रण गर्न ठूलो सहयोग पुग्ने बताउनुभयो ।

कार्यक्रममा विशेष अतिथि वडा नं. ६ वडा अध्यक्ष विष्णु बहादुर भट्टराईले यस्ता किसिमका कार्यक्रम व्यवहारिक र अति नै महत्वपूर्ण रहेकोले वडाले सधैं सहकार्य गर्न तयार रहेको बताउनुभयो । कार्यक्रमका प्रमुख प्रशिक्षक जिल्ला प्रहरी कास्कीका प्रहरी बरिष्ठ नायव निरीक्षक बसन्त राज भुसालले एलपी ग्याँसको परिचय, ग्याँस चुहावट भई आगलागी हुँदा अपनाउनुपर्ने सावधानी, आगो नियन्त्रक उपकरणको प्रयोग गर्ने विधिको बारेमा प्रयोगात्मक अभ्यासद्वारा सहभागीहरुलाई जानकारी गराउनु भएको थियो ।

सामुदायिक सेवा केन्द्र बैदामका अध्यक्ष ठाकुर प्रसाद बरालले हामी घर भान्छाबाटै सुरक्षित हुनुपर्छ भन्ने उद्देश्यका साथ यस कार्यक्रमको आयोजना गरिएको बताउनुभयो । उक्त कार्यक्रममा बैदाम स्थित आमा समूहका पदाधिकारी तथा सदस्यहरु, पर्यटन व्यवसायीहरु लगायत सर्वसाधारणहरुको सहभागिता रहेको थियो ।
संस्थाका अध्यक्ष ठाकुर प्रसाद बरालको अध्यक्षतामा सम्पन्न कार्यक्रमको संचालन सचिव शान्ता सुवेदी तिमिल्सिनाले गर्नुभएको थियो ।