जिसस कास्कीको बित्तिय सुशासन जोखिम मुल्यांकनमा रूपा गाउँपालिका कास्कीमा प्रथम

-


     पोखरा क्लिक     
     वैशाख १६ गते २०८२ मा प्रकाशित


दीननाथ बराल,

पोखरा १६, वैशाख,

जिल्ला समन्वय समिति (जिसस) कास्कीको बित्तिय सुशासन जोखिम मुल्यांकनमा रूपा गाउँपालिका प्रथम भएको छ । जिससले मंगलबार पोखरामा एक कार्यक्रम मार्फत सार्बजनिक गरेको नतिजा अनुसार एक सय अंक भारमा रूपा गाउँपालिकाले अन्य पालिकाहरु भन्दा बढी ६८ अंक ल्याउदै प्रथम भएको मंगलबार पोखरामा आयोजित सार्वजनिक कार्यकममा उल्लेख गरिएको हो ।

योजना, बजेट तथा कार्यक्रम व्यवस्थापन तर्फ १६.५, कार्यान्वयन क्षमता तथा व्यवस्थापन तर्फ १७.५, लेखाङ्कन तथा प्रतिवेदन तर्फ १३, अनुगमन मुल्यांकन तथा लेखापरीक्षण तर्फ ८.५ र राजस्व व्यवस्थापन तर्फ १२.५ अंक सहित ६८ अंक प्राप्त गरी कास्कीका ५ वटा पालिका मध्य प्रथम हुन सफल भएको जिल्ला समन्वय समिति कास्कीका प्रमुख लिलाधर पौडेलले बताउनु भयो ।

त्यसै गरी १.५ अंकले पछि पर्दा अन्नपूर्ण गाउँपालिका यस बर्ष भने दोश्रो भएको हो । अन्नपूर्ण गाउँपालिकाले ६६.५ अंक ल्याउदै दोश्रो हुँदा मादी गाउँपालिकाले ६१.५ अंक ल्याउदै तेश्रो भएको छ । त्यसै गरी पोखरा महानगरपालिका भने अन्तिमबाट दोश्रो भएको छ । पोखरा महानगरले ४७.५ अंक ल्याउदै चौथो हुँदा माछापुच्छ«े गाउँपालिकाले ४५ अंक सहित पाचौं अर्थात अन्तिम भएको छ । अन्नपूर्ण गाउँपालिका गत बर्ष प्रथम भएको थियो ।

नतिजा सार्बजनिक गरे लगत्तै कास्कीका पालिकाहरूको बित्तिय सुशासनको अबस्थामा धेरै सुधार गर्न आवश्यक भएको प्रमुख पौडेलले बताउनु भयो । आफ्ना कार्य सम्पादन गर्न पालिकाहरू थप गम्भीरतापूर्बक लाग्नुपर्ने उहाँले बताउनु भयो । बित्तीय सुशासनको बिषय पालिकाहरूले उच्च प्राथमिकतामा राख्नु पर्ने भन्दै पौडेलले पालिकाहरूमा शाखागत समन्वय थप मजबुत बनाउनु जरुरी भएको उल्लेख गर्नुभयो ।

कार्यक्रममा जिसस कास्कीका उप प्रमुख सरिता माल, जिल्ला समन्वय अधिकारी नबराज बराल लगायतले आफुहरुले पालिकाको कार्य प्रगतीको आधारमा उक्त मुल्याङकन गरिएकोमा जोड दिनुभयो ।