
दीननाथ बराल,
पोखरा १०, वैशाख,
पोखरा अन्तराष्ट्रिय विमानस्थललाई नियमित रुपमा चलाएमान बनाउन पोखराका पर्यटन व्यवसायीहरुले माग गर्नुु भएको छ । पोखराका पर्यटन व्यवसायीहरुको छाता संस्था पोखरा पर्यटन परिषदले आज (बुधबार) प्रेस विज्ञेप्ति जारी गर्दै अन्तराष्ट्रिय विमानस्थललाई चलाएमान हुनबाट रोक्ने काम नगर्न चेतावनी दिदै नियमित रुपमा चलाएमान बनाउन माग गरेको हो ।
पोखराको बदनाम नगर्न माग गर्दै यदि पोखरा अन्तराष्ट्रिय विमानस्थलमा कहि कतै भष्ट्राचार भएको छ भने यथाशिघ्र निश्पक्ष रुपमा छानविन गर्न समेत परिषदले सवै पक्षसंँग माग गरेको परिषदका अध्यक्ष तारानाथ पहारीले बताउनुभयो । गण्डकी प्रदेशको पर्यटकीय र आर्थिक मेरुदण्डको रुपमा रहेको पोखरा अन्तराष्ट्रिय विमानस्थलको सम्वन्धमा पछिल्लो समयमा आएका विभिन्न विषयहरु प्रति आफ्नो गम्भिर ध्यानाकर्षण भएको उहाँले जनाउनु भयो
कुनै पनि प्रकारका निमार्ण कार्यमा हुने भ्रष्टाचारमा शुन्य सहनशिलताको नीति लागु हुनु पर्छ भन्नेमा परिषद दृढ रहेको दाबी गर्दै परिषदका अध्यक्ष पहारीले पोखरा अन्तराष्ट्रिय विमानस्थललाई नियमित उडानका साथ पूर्ण रुपमा सञ्चालन गर्न निजी क्षेत्र एक भएर अगाडि बढिरहेको सन्दर्भमा राज्यवाट पनि सोहि प्रकारको साथ र सहयोगको अपेक्षा गरिएको जनाउनु भयो ।
पोखरा विमानस्थल करिब २२ अर्बको ऋण सहायतामा निर्माण भएको हो । पोखरा अन्तराष्ट्रिय विमानस्थल निमार्ण गर्न पोखराका पर्यटन व्यवसायीहरुले विगतमा गरेका विभिन्न पहल कदम पश्चात २०७९ पौष १७ गते निमार्ण सम्पन्न भई विमानस्थल संचालनमा आएको थियो । यद्यपी दुई २ बर्ष २ महिना पछि पोखरा चिनको छेन्दुमा सिचुवान एअरलाइन्सले व्यवसायीक चार्टर्ड उडान सुरु भएको छ भने हिमालयन एअरलाइन्सले तिव्बतको ल्हासा देखि पोखरामा साप्ताहिक रुपमा व्यवसायीक उडान सुरु गरेको छ । २०८१ चैत्र ५ गतेका दिन ऐतिहासिक पहिलो व्यवसायीक उडान पोखरावाट १ सय २६ जना यात्रु लिई चिनको छेन्दु अवतरण गरेको र तत् पश्चात हाल साप्ताहिक रुपमा सिचुवान एअरले पोखरा (छेन्दु एक उडान र हिमालयन एअरलाईन्सले पोखरा ( ल्हासा साप्ताहिक रुपमा एक उडान गरिरहेको छ । पोखरा अन्तराष्ट्रिय विमानस्थलवाट अन्तराष्ट्रिय उडान आकर्षित हुदै गैरहेको वर्तमान अवस्थालाई छायाँमा पार्ने गरी भैरहेका समग्र पोखराको वदनामी गर्ने किसिमका क्रियाकलाप प्रति परिषदले ध्यान गम्भीर रुपमा आकृष्ट भएको जनाएको छ ।
पोखरा विमानस्थल निर्माणमा करिब १० अर्ब रुपैयाँ अनियमितता भएको भनि केही दिन अघि सार्वजनिक गरिएको छ । पोखरा विमानस्थलका सम्बन्धमा छानबिन गरिरहेको संसदीय सार्वजनिक लेखा समितिको उपसमितिले संसदको सार्वजनिक लेखा समितिमा निष्कर्ष सहित प्रतिवेदनको मस्यौदा तयार पेश गरेको हो । प्रतिवेदनमा ११ वटा शीर्षकमा अनियमितता भएको उल्लेख गरेको छ । राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देन संयोजकत्वको उपसमितिले उक्त प्रतिवेदन तयार पारेको हो । पोखरेलीको लामो समय आन्दोलनबाट पोखरा विमानस्थल निर्माण भएको हो। विमानस्थल निर्माणको क्रममा भएको आर्थिक अनियमितताको बिषयमा उचित छानविन गर्न पोखरेलीले माग गर्नु भएको छ ।



